
गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कालो पोथी’का निर्देशक मीन बहादुर भामले दोस्रो फिल्मको घोषणा गरेका छन् । थुप्रै अन्र्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भएको ‘कालो पोथी’को सफलतापछि मीन बहादुर भामले नयाँ फिल्मको निर्माण घोषणा गरेका हुन् ।
उनले फिल्मको नाम ‘चिसो वर्ष’ राखेका छन् । 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै उनले भने, ‘अहिले स्क्रिप्ट लेखिरहेको छु । अझै २/३ वर्ष लाग्छ फिल्म ‘चिसो वर्ष’ निर्माण हुन । अहिले न कलाकार फाइनल गरेको छु नत लोकेशन नै । हाम्रो नेपालको हिमाली भेगमा हुने बहुपति प्रथाको विषयमा फिल्म ‘चिसो वर्ष’ निर्माण हुनेछ ।’
एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम रहेको छ । उनका अनुसार, संभवत २०१९ देखि २०२० सम्ममा फिल्मको छायांकन सुरु गरिने छ ।
मीन बहादुरले निर्देशन गरेको फिल्म ‘कालो पोथी’ले इटलीको भेनिसमा भएको ७२ औं भेनिस फिल्म फेस्टिवल अन्तरगतको क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । ‘कालो पोथी’भन्दा अगाडि मीनले छोटो फिल्म 'बासुल्ली' पनि निर्देशन गरेका थिए । माओवादी द्वन्द्वको पृष्ठभूमिमा मुगुका दुई बालकको मित्रताको कथा फिल्म ‘कालो पोथी’ निर्माण भएको थियो ।

