
‘होस्टल रिर्टन्स’बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता एवं मोडल शुशील श्रेष्ठ अभिनित फिल्म ‘सायद २’ यही शुक्रवार रिलिज हुँदैछ । उनी अभिनित फिल्म 'कारखाना' यही महिनाको १६ गते रिलिज भएको थियो । 'कारखाना' रिलिजको पन्ध्र दिनपछि रिलिज हुन लागेको फिल्म ‘सायद २’ शुशीलको प्रतिक्षित फिल्म हो । 'कारखाना' असफल हुँदा लागेको घाउ शुशील फिल्म ‘सायद २’ बाट निको पार्ने तयारीमा छन् ।
'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै सिक्सप्याक नायक शुशीलले भने, 'नेपालमा लभस्टोरी फिल्म धेरै बनेका छन् । अधिकांश फिल्ममा लभको पोजेटिभ अर्थात्, ह्याप्पी इन्डिङ मात्र देखाएको छ तर ‘सायद २’ त्योभन्दा विल्कुलै फरक छ । प्रेममा हुने सम्झौता लगायतका धेरै कुराहरु ‘सायद २’ मा अटाइएको छ । उनले अगाडी थप्दै भने, 'सायद २ मनोरञ्जनको खजाना हो । फिल्ममा लभ, रोमान्स, एक्सन, कमेडी सबै छ ।'
फिल्ममा आफ्नो भूमिकामा विषयमा शुशील भन्छन्, 'मैले यसअघि अन्य फिल्महरुमा निर्वाहा गरेको भूमिकाभन्दा यो फिल्ममा धेरै फरक छ । फिल्ममा मलाई धेरै मस्ती गर्नुपर्छ, पाटी गर्नुपर्छ, साथीहरुसँग रमाइलो गर्नुपर्छ । ‘सायद २’ मा प्ले ब्वाई जस्तो भूमिका मैले निर्वाहा गरेको छु ।' उनले फिल्म ‘सायद २’ सफल हुनेमा विश्वस्त रहेको बताए ।
‘सायद’ फिल्मको सिक्वेल ‘सायद २’ लाई दुर्गिस फिल्मस्को ब्यानरले निर्माण गरेको हो। युवाहरुको कथावस्तमाथि तयार भएको ‘सायद २’लाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्।
फिल्ममा सुशिल श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला लगायतले अभिनय गरेका छन्। सिनेमेटोग्राफर राजु विक्रम थापाले फिल्म खिचेका हुन् । फिल्मको सम्पादन दिर्घ खड्का, द्धन्द्ध अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन्। 'सायद', 'होस्टल', 'होस्टल रिर्टन्स'जस्ता फिल्मका निर्माता सुनील रावलले यो फिल्म निर्माण गरेका हुन् ।

