.jpg)
जेष्ठ २६ गतेलाई रिलिज डेट लक गरिएको भएतापनि प्राविधिक कारणले प्रदर्शनमा आउन नसकेको फिल्म ‘मेरी कुसुम’को नयाँ रिलिज डेट घोषणा गरिएको छ । अब यो फिल्म साउन ६ गतेबाट अल नेपाल प्रदर्शनमा आउने कलाकार तथा निर्माता मोहन बोगटीले जानकारी दिए ।
यूएइका विभिन्न राज्यमा भएको प्रदर्शनपश्चात फिल्मको राम्रो प्रतिक्रिया मिलेको भन्दै कलाकार बोगटीले नेपालमा पनि माया पाउनेमा विश्वस्त रहेको सुनाए । साउन ६ गतेबाट अब फिल्मको प्रदर्शन पछाडि नसर्ने उनको भनाई छ । मोहनले भने–‘दुबई, अवुधाबी लगायतका राज्यमा फिल्म हेरेपछि दर्शकले उत्कृष्ट भन्नुभएको छ । हामीले, यूएइबाट नै लगानीको केही प्रतिशत रकम सुरक्षित गरिसकेका छौ । अब, नेपालबाट लगानी सुरक्षित हुनेमा ढुक्क छौ ।’
फिल्मको लेखन तथा निर्देशन एन.आर घिमिरेले गरेका हुन् । सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ। दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ । प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ।

