'नाई नभन्नू ल ४' बाट नेपाली रतजपटमा भित्रिएका युवापुस्ताका चर्चित नायक हुन पल शाह भने वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'बाट स्टार बनेकी नायिका हुन पूजा शर्मा । अहिले यी दुईको चर्चाले नेपाली सिनेवृत खुबै तातेको छ । कारण, पल र पूजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
'नाई नभन्नू ल ४' बाट नव-नायकको अवार्ड पोल्टामा पारेका पल शाह अब अर्को वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु’बाट उत्कृष्ट नायकको प्रतिस्पर्धामा उत्रिदैछन् भने नायिका पूजा शर्माले पनि उत्कृष्ट नायिकको विधामा भिडन्त गर्नेछिन् । यो फिल्मबाट नायिका पूजा निर्मात्री पनि बनेकी छिन् । त्यसैले पनि अहिले पूजाको दौडधुप दोहोरो छ ।
फिल्म ‘म यस्तो गीत गाउँछु’ पल र पूजाको करिअरका लागि सफल हुनै पर्ने देखिन्छ । फिल्मले राम्रो व्यापार गरेको खण्डमा पल र पूजाको डिमाण्ड नेपाली फिल्म बजारमा चर्को हुने पक्का छ । यसैले पनि पल र पूजा फिल्मको प्रचारमा भोक-निन्द्रा छाडेर दौडिरहेका छन् । यी दुवै फिल्म ‘म यस्तो गीत गाउँछु’ करिअरको फिल्म भएको बताउँछन् ।
नायिका पूजा शर्मा भन्छिन्, ‘यो फिल्मको कथा उत्कृष्ट भएकाले नै हामीले फाइनल गरेका हौ । चलचित्रको गीत, कलाकार, प्रस्तुती सबै उत्कृष्ट छ । यसैले फिल्म चल्छ भन्नेमा ढुक्क छु ।’

यस्तै, नायक पल शाह फिल्म चल्नुपर्ने कारणबारे भन्छन्–‘पहिलो कुरा त यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्नुभएको हो । लभस्टोरी फिल्ममा सुदर्शन थापाको आफ्नै विशेषता छ । साथमा, यसको कथावस्तु, गीतसंगीत पनि दर्शकको मन छुने खालको छ । यस्तै, फिल्ममा पल र पूजाको जोडी पनि छ ।’
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्न माहिर देखिएका छन् ।
फिल्ममा पूजा र पलका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।

