.jpg)
'हाउ फन्नी' निर्देशक निलु डोमा शेर्पाको मंगलवार अन्त्येष्टि गरिएको छ । काठमाण्डौको स्वयम्भु आर्यघाटमा उनको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको हो । निलुको पार्थिव शरीरलाई अन्त्येष्टि अगाडि श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि दर्जनौ चलचित्रकर्मीहरु स्वयम्भु आर्यघाट पुगेका थिए ।
निलुको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिँदा कलाकार, निर्माता, निर्देशक, पत्रकारहरुको आँखा रसाएका थिए । रेखा थापा, निशा अधिकारी, दीपाश्री निरौला, आयुष्मान देशराज श्रेष्ठ, आकाश अधिकारी, माला लिम्बु लगायतले निलुलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । उनको गएको शनिवार हार्ट अट्याकका कारण निधन भएको थियो ।
.jpg)
उनले निर्देशन गरेको फिल्म 'हाउ फन्नी' गएको वर्ष रिलिज भएको थियो । 'हाउ फन्नी'ले व्यावसायिक सफलता हात नपारेपनि गीत-संगीत भने अझैपनि चर्चामा छन् । हालैमा फिल्म 'हाउ फन्नी'को 'शिरैमा शिरबन्दी' बोलको गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । सरल स्वभाबकी निलु डोमा शेर्पाको निधनले नेपाली फिल्म क्षेत्र स्तब्ध भएको छ ।
.jpg)
प्राप्त जानकारी अनुसार, निलु लामो समयदेखि अस्वस्थ थिइन् । निधनको उघिल्लो दिन शुक्रवार उनी नायिका नीशा अधिकारीको विवाहमा पनि सहभागी भएकी थिइन् । उनले फिल्म 'सुनगाभा'मा मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेकी थिइन् भने फिल्म 'पुन्टे परेड'मा मुख्य भूमिका समेत निर्वाह गरेकी थिइन् ।

