
वास्तविक घट्नामा आधारित भएर निर्माण भएको फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सन्चालन गर्ने भएको छ । सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्न लागेको हो । सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफको सहयोगमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । अर्किड केयर होमको प्रमुख सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमलाई रेड सर्कल क्रिएटिभ सोल्युसन्सले व्यवस्थापन गर्ने छ ।
एक दिने इभेन्टको रूपमा सञ्चालन हुन लागेको कार्यक्रममा फिल्मको स्क्रिनिङ र स्क्रिनिङपछि फिल्मका कलाकारसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, कार्यक्रममा कन्डम वितरण, रक्तदान, स्वास्थ्य जाँच, साइकोलोजिकल काउन्सिलिङका साथै टिकटमा विशेष उपहारहरूको व्यवस्था समेत गरिएको छ । यसका लागि ओम हस्पिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले सघाउने छन् ।
फिल्म सिग्नेचरले व्यक्तिको वास्तविक जीवनलाई विषयवस्तु बनाएको छ । ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)का अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको फिल्म सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । फिल्ममा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय रहेको छ भने । फिल्ममा छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ ।
यो अभियान र फिल्मलाई यूएनएडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फर एडस् एन्ड एसटीडी कन्ट्रोलले एक्नलेजड गरेका छन् । यो अभियान पहिलो चरणमा देशभरका मुख्य सहरहरूमा सञ्चालन हुनेछ । यही अभियानको आगामी कार्यक्रम पोखराको दिपेन्द्र सभागृहमा, भदौ महिनामा सम्पन्न हुनेछ ।

