
गएको वर्ष रिलिज भएको फिल्म 'बाटो मूनीको फूल २' लाई निर्माण गरेका नायक तथा गायक यश कुमारले फेरि फिल्म निर्माणमा कम्मर कसेका छन् । नेपालबाट सन्तोषजनक व्यापार गरेपछि यश कुमारले विदेश प्रदर्शनबाट 'बाटो मूनी फूल २' मा खर्च गरेको रकम उठाएका थिए । अब यश कुमारले आफ्नै ब्यानरमा नयाँ फिल्म निर्माण गर्दैछन् । 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै यशले फिल्मको नाम 'आई एम छिरिङ' राखिएको बताए ।
उनले भने, 'सेप्टेम्बरबाट फिल्मको छायांकन सुरु गर्ने गरि अहिले तयारी भैरहेको छ । फिल्ममा म र निमा रुम्बा मुख्य भूमिकामा फाइनल भैसकेका छौं भने अन्य कलाकारहरुको छनौट चाँडै हुनेछ ।' छिरिङ पात्रको जीवनमा आउने उचारचडावलाई फिल्ममा देखाइने उनले बताए ।
'फिल्मलाई तपाई आफैले निर्देशन गर्दै हुनुहुन्छ रे नी ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै उनले भने, 'त्यो अहिले नै फाइनल भएको छैन । म आफैले निर्माण, निर्देशन र अभिनय गर्दा गाह्रो हुने भएका कारण निर्देशन गर्ने सोचमा अहिले म छैन । अहिले हामी फिल्मको स्क्रिप्ट अनुसारको निर्देशक खोजिरहेका छौं ।'
उनले काठमाडौं, मनाङ, मुस्ताङ, रोल्पा, डोल्पासँगै फिल्मको अमेरिकामा पनि केही प्रतिशत छायांकन हुने जानकारी दिए । उनले भने, 'केही दिन अगाडि मात्र म फिल्मको लोकेशन हेर्नका लागि मुस्ताङ पुगेर फर्किएको हुँ । चाँडै मनाङ जाँदैछु । त्यसपछि हामी एउटा निर्णय लिन्छौं ।'
गायनमा सफल यश कुमारले 'बाटो मूनीको फूल', 'आधी बाटो', 'वीर', 'बाटो मूनीको फूल २' लगायतका फिल्ममा अभिनय पनि गरेका छन् । तर, उनी अभिनित 'बाटो मूनीको फूल' मात्र सफल मानिन्छ ।

