
असार २२ गते हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना हुन लागेको 'नवौं छायाँछबी डि सिने अवार्ड' अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ । चार दशक भन्दा लामो समय देखि संगीत श्रृजनामा लागेर नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा महत्वपूर्ण योगदान पु¥याएकाले बरिष्ठ सँगीतकार बासकोटालाई यो सम्मानबाट सम्मानित गर्न लागिएको छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । बासकोटा एक दर्जन भन्दा बढी फिल्मका कथाकार, करिब तीन सय ओटा चलचित्रका संगीतकार, चार हजार भन्दा बढी गीतका संगीत सर्जक, गायक र गीतकार हुन् ।
यस्तै ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ बाट पुरुष तर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ भने यो वर्षको ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’ बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ । हाल नयाँ पत्रिकामा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिन लागिएको हो ।

