
भोजपुरी फिल्मका जुबली स्टार दिनेश लाल यादव (निरहुआ) र भोजपुरी फिल्मकी सुपरस्टार अभिनेत्री आम्रपाली दुबेको मुख्य भूमिका रहेको भोजपुरी फिल्म 'निरहुआ चलल लन्डन'को अहिले नेपालमा छायांकन भैरहेको छ । फिल्ममा समाबेश एक गीत करीब ६ दिनदेखि खिच्ने काम भैरहेको निर्देशक चन्द्र पन्तले जानकारी दिए । दर्जनौं नेपाली फिल्ममा द्धन्द्ध निर्देशकको रुपमा काम गरेका चन्द्र पन्तले पहिलो पटक भोजपुरी फिल्म निर्देशनमा हात हालेका हुन् ।
करीब ३ करोड बजेटमा निर्माण हुने यो भोजपुरी फिल्मको छायांकन पोखरा, विरगंज, सिमरा र लन्डनमा हुने निर्देशक पन्तले जानकारी दिए । 'फिल्मीखबर डटकम'सँग फोनवार्ता गर्दै निर्देशक चन्तले भने, 'पहिलो प्रदर्शन हामी लन्डनमा गर्छौ र छठ पर्वमा भारतमा फिल्म रिलिज गर्ने लक्ष्य छ । नेपालमा पनि फिल्म रिलिज गर्ने अहिले तयारी भैरहेको छ ।'

उनले अगाडि भने, 'मैले एक भोजपुरी फिल्ममा द्धन्द्ध निर्देशक भएर काम गरेको थिए । मलाई भोजपुरी फिल्मको सुपरस्टासँग काम गर्ने निकै ठूलो रहर थियो । सुरुमा दिनेश लाल यादव (निरहुआ)ले २ वर्षसम्म डेट छैन भन्नुभयो । मैले फिल्मको स्क्रिप्ट सुनाएपछि उहाँले तत्काल डेट दिनुभयो र हामीले सुट सुरु गरेका हौं ।' उनका अनुसार, ४० प्रतिशत छायांकन नेपालमा हुनेछ भने ६० प्रतिशत लन्डनमा खिचिनेछ ।
फिल्मका लेखक सन्तोष मिश्रा हुन् । पशुपति नाथ प्रोडक्शनको ब्यानरमा बन्न लागेको यो फिल्मलाई निर्माता सोनू खत्री र सूरज खडकाले निर्माण गर्न लागेका हुन् ।

