प्रदीप खड्का युवापुस्ताका लोकप्रिय नायक हुन् । वर्ष २०७२ मा रिलिज भएको सुपरहिट लभस्टोरी फिल्म 'प्रेमगीत'बाट नसोचेको सफलता हात पारेका प्रदीपको डेब्यू फिल्म भने 'इस्केप' हो । तर, प्रदीपका लागि यो फिल्मले करिअरमाथी उठाउन कुनै मद्दत गरेन । 'इस्केप' असफल भएपछि प्रदीपलाई निकै ठूलो डर थियो अब सायद आफ्नो फिल्मी यात्रामा पूर्णविराम लाग्यो । तर, भाग्यमानी प्रदीपको हातमा पर्यो फिल्म 'प्रेमगीत' ।
भूकम्प नआएको भए प्रदीपलाई फिल्म 'प्रेमगीत'मा देख्न पाइँदैन्थ्यो । किनकी उनी अष्ट्रेलिया जाने लगभग अन्तिम तयारीमा थिए । भूकम्पले उनको भिषा प्रक्रिया ढिला भयो । त्यसैबेला उनको हात परेको हो फिल्म 'प्रेमगीत' । पहिलो फिल्म 'इस्केप'ले नै नराम्रो धक्का दिएपछि सायद प्रदीपले आफ्नो सुरक्षित भविष्य फिल्म क्षेत्रमा देखेनन् अनि सपनाको भारी बोकेर उनी अष्ट्रेलिया पलायन हुने सोचमा थिए ।
तर, उनीमाथि आँखा गाडियो निर्माता सन्तोष सेनको । निर्माता सन्तोष सेन पनि आफ्नो पहिलो फिल्म 'चंखे शंखे पंखे' फ्लप भएपछि एउटा हिट फिल्मको खोजीमा थिए । नभन्दै प्रदीप र सन्तोष दुवैलाई फाइदा भयो । 'प्रेमगीत' हिट भयो । अनि पूरा भयो प्रदीपको हिट हिरो बन्ने सपना भने सन्तोषको पनि हिट निर्माता बन्ने ।
त्यसपछि अनमोल केसीमाथी आँखा गडेका धेरै निर्माताहरुको रोजाईमा पर्न थाले प्रदीप । 'प्रेमगीत' हिट भएपछि उनलाई लाखौं पारिश्रमिकसहित दर्जनौं फिल्मबाट अफरको लर्को लाग्यो तर उनले सबै अस्वीकार गरे ।
उनलाई आफ्नो फिल्ममा खेलाउन पाका निर्देशक तुलसी घिमिरेदेखि निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक एवं कलाकार दीपाश्री निरौलासम्म धाएका थिए । 'ए मेरो हजुर २' मा मुख्य भूमिकाका लागि नायिका झरना थापा समेत प्रदीपको पछाडि दौडिएकी थिइन् ।
अब 'प्रेमगीत २' मार्फत उनी झण्डै २ वर्षपछि फेरि पर्दामा आउँदैछन् । यो फिल्म साउन १३ गतेबाट अलनेपाल रिलिज हुँदैछ । 'प्रेमगीत'कै सिक्वेलमा फेरि पर्दामा देखिन लागेका प्रदीपका लागि 'प्रेमगीत २' आफैमा चुनौतीपूर्ण छ । 'प्रेमगीत'ले बनाएको आफ्नो लोभलाग्दो क्रेज 'प्रेमगीत २' ले बचाउला वा चौपट बनाउला ? यसले अहिले प्रदीपको भोक-निन्द्रा उडाएको छ । किनभने उनले आफ्नो नामको अगाडि लगाउने नाम भनेकै 'प्रेमगीत' थियो ।
केही दिन अगाडि हामीले प्रदीपलाई प्रश्न गरेका थियौं तपाईको करिअरका लागि 'प्रेमगीत २' कति महत्वपूर्ण छ ? उनले उत्तर दिँदै भने, 'मेरो लागि 'प्रेमगीत २' भनेको जे जति छ यसैमा छ । किनभने मेरो नाममा लगाउने नाम भनेको 'प्रेमगीत' थियो त्यसैलाई नै दाउमा राखेर आज म फेरि 'प्रेमगीत २' मा आएको छु । त्यसैले यो छ भने सबै छ यो छैन भने केही छैन ।'
प्रदीपको यो भनाईबाट पनि के स्पष्ट हुन्छ भने अब उनलाई स्टार वा गुमनाम के बनाउने त्यो 'प्रेमगीत २' को व्यापारिक रिपोर्टमा भर पर्छ । त्यसैले पनि प्रदीपका लागि यो फिल्म चल्न निकै आवश्यक छ । 'प्रेमगीत'मा नायिका पूजा शर्मासँग रोमान्स गरेका प्रदीपले 'प्रेमगीत २' मा भने नव-नायिका अश्लेषा ठकुरीसँग स्क्रिन शेयर गरेका छन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने रामशरण पाठकले निर्देशन गरेका हुन् ।