मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ दुई वर्षाको सम्बन्ध ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/25
नेपाली फिल्ममा केही यस्ता नायिकाहरु छन्, जसको एकअर्कासँग नाम जुध्दा निकै सास्ती बेहोर्नु परेको छ । नायिका नम्रता श्रेष्ठसँग नाम जुध्दा फिल्म 'गाँठो'की नायिका नम्रता श्रेष्ठले आफ्नो नाम परिवर्तन समेत गर्न खोजेको खबर तपाईहरुले यसअघि नै सुनिसक्नु भएको छ । 
 
यस्तै, नेपाली फिल्ममा एउटै नाम जुधेका अर्का दुई नायिका छन् वर्षा राउत र वर्षा सिवाकोटी । नाम एउटै भएका कारण पनि उनीहरु एकअर्कालाई दुश्मन मान्ने गरेको र स्टारडमको लडाई चल्ने गरेको बताइन्छ । 
 
नायिका वर्षा राउतभन्दा वर्षा सिवाकोटीले केही वर्ष अगाडि नेपाली फिल्ममा पाइला टेकेकी हुन् । उनले 'नाई नभन्नू ल २' बाट डेब्यू गरेकी हुन् भने 'नाई नभन्नू ल ४' बाट वर्षा राउतले पाइला अगाडि बढाएकी हुन् । फरक भाग तर एउटै नामको फिल्मबाट नेपाली रजतपटमा पाइला राखेका एउटै नामका दुई वर्षाको झगडाको खबर गएको वर्ष निकै चर्चामा थियो । 
 
फिल्म 'मेरो पैसा खोई'मा नायिका वर्षा सिवाकोटी सुरुमै फाइनल भएकी थिइन् । फिल्ममा दुई नायिका मुख्य भूमिकामा हुने भएपछि निर्माणपक्षले अर्को नायिका खोजिरहेको थियो । यसै क्रममा 'जात्रा', 'छक्का पन्जा २' की नायिका वर्षा राउतलाई मुख्य भूमिकामा निर्माणपक्षले अनुवन्धित गर्‍यो । 
 
आफ्नो प्रतिद्धन्द्धी एउटै फिल्ममा भएपछि वर्षा सिवाकोटीले 'मेरो पैसा खोई' छाडेको बताइन्छ । तर, वर्षा सिवाकोटीको कुरा सुन्ने हो भने वर्षा राउतसँग कुराकानी र निर्देशक/निर्मातासँग छलफल गरेपछि फिल्म छाडेको बताउँछिन् । वर्षा राउतले पनि वर्षा सिवाकोटीले सहमतीमै फिल्म छाडेको बताइन् । 
 
शनिवार राजधानीमा छायांकन गरिएको एक तीज गीतको सुटिङमा सँगै भेटिएका दुई वर्षाले आफूहरुबीच झगडा नभएको पनि स्पष्ट पारेका छन् । नायिका वर्षा सिवाकोटीले भनिन्, 'हामीलाई अहिलेसम्म सँगै फिल्म र भिडियोमा नदेखेर पनि बाहिर यस्तो हल्ला चलेको हुन सक्छ । हामी निकै मिल्छौं तर सम्बन्ध विग्रिएको भन्ने हल्ला चाहिँ गलत हो ।'
 
त्यस्तै, अर्की वर्षा राउतले भनिन्,  'एउटै नाम भएर सायद सबैले त्यस्तो भन्नुभएको होला । वर्षा सिवाकोटीसँग मेरो खासै भेटघाट हुँदैन । भेट्दा त हामी निकै मिल्छौं । सायद हामीले कसैको नराम्रो चिताएका छैनौं होला । हाम्रो सम्बन्ध बाहिर आएको हल्ला जस्तो छैन् । हामी मिल्ने साथी हौं ।' 
 
तीन सफल फिल्ममा आफ्नो दमदार अभिनय प्रस्तुत गरिसकेकी वर्षा राउतले नायिका वर्षा सिवाकोटीलाई धेरै पछाडि छाडिसकेकी छिन् । लगभग सँगै नेपाली फिल्ममा पाइला राखेका कारणपनि यी दुईबीच स्टारडमको लडाई हुनु अनौठो पक्कै होइन् । अब यो पनि स्पष्ट भैसकेको छ कि दुई वर्षाबीच कुनै लफडा भएको छैन् । त्यसो भए के दुई वर्षालाई चाँडै एउटै फिल्ममा देख्न पाइन्छ ? अब यो त भोलीका दिनले नै बताउनेछ ।