पछिल्लो समय नेपालमा झण्डै आधा दर्जन बढी फिल्म अवार्डहरु आयोजना हुने गरेका छन् । चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट प्रदान गर्ने अवार्ड बाहेक अरु सबै विभिन्न प्राइभेट संघ-संस्थाहरुले अवार्ड आयोजना गर्दै आइरहेका छन् । नेपालमा कुनै वर्ष यस्तो छैन जून अवार्ड विवादमा नतानिएको होस् । सुन्नमा आइरहन्छ कि केही चलचित्रकर्मीहरुले अवार्ड बहिष्कार गरे, अवार्डको नाममा मनपरी भयो र राम्रोलाई भन्दा हाम्रोलाई अवार्ड वितरण गरियो । यसले दिनप्रतिदिन नेपाली फिल्म अवार्डले चलचित्रकर्मीहरुको मात्र होइन दर्शकहरुको पनि विश्वास गुमाउँदै गएको छ ।
वर्षमा झण्डै ८० देखि ८५ को आसपासमा नेपाली फिल्म निर्माण हुने गर्छन् । यी मध्ये आधा दर्जन सिनेमाले पनि लगानी सेभ गरेर रकम खल्तीमा हाल्न पाउँदैनन् । त्यहीमाथि हलीउड र बलीउड फिल्मसँग प्रतिस्पद्र्या गर्नुपर्छ । अवार्ड भनेको चलचित्रकर्मीहरुलाई उत्कृष्ट कामको मुल्यांकन गर्दै र हौसला स्वरुप प्रदान गर्ने गरिन्छ तर पछिल्लो समयको विवाद हेर्ने हो भने अवार्ड प्रोत्साहनका लागि होइन सम्बन्ध प्रगाढ बनाउनका लागि प्रदान गरिदै आइएको छ ।
अहिले अवार्ड कस-कसले पाउँदैछन् भन्ने थाहा पाउन अवार्ड विजेताको नाम सुनिरहनु पर्दैन, जो अवार्ड कार्यक्रममा सहभागी भएका हुन्छन् र जसले अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्दैछन् उसैले अवार्ड पाउने लगभग पक्का हुन्छ । यो हामीले भनेका होइनौं, पछिल्लो समय देखिएको घट्नाक्रम यस्तै बोल्छ । अवार्ड कार्यक्रममा कुनै कलाकार देखिए भने अहिले चलचित्रकर्मीहरु नै भन्छन्, 'यसैले अवार्ड पाउँदैछ' । यस्तो लाग्दैछ अब नेपाली फिल्म अवार्डमा यही संस्कार स्थापित हुँदैछ ।
विस्तारै नेपाली फिल्म अवार्डप्रति गुम्दै गएको विश्वशनियताका कारण अहिले अवार्ड कार्यक्रममा निकै न्यून चलचित्रकर्मीहरु सहभागी हुने गर्छन् । अझ भनौं, जसले अवार्ड पाउने पूर्व जानकारी प्राप्त गरेका हुन्छन् उनीहरुकै परिवार बढी हुन्छन् अवार्ड कार्यक्रममा चलचित्रकर्मीहरुभन्दा । कुनै दिन अवार्ड कार्यक्रममा पुरानादेखि नयाँ कलाकारहरुको बाक्लो उपस्थिती हुन्थ्यो । अवार्डलाई पर्वको रुपमा मनाइन्थ्यो तर अहिले अवार्डलाई जसले पाउने त्यही मात्र लिन जाने थलो बनाइएको छ ।
केही वर्षयताको अवार्ड कार्यक्रम हेर्ने हो भने अवार्ड पाउने फाइनल भएका कलाकाहरु मात्र पुग्ने गरेको देख्न पाइन्छ । नोमिनेशनमा परेपछि अवार्ड पाउनै पर्छ भन्ने मानसिकताका कारण चलचित्रकर्मीहरु नै यदी अवार्ड नपाए लज्जित हुने डरले जान मान्दैनन् । यस्तै देखियो हिजो शनिवार राजधानीमा आयोजित 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार' समारोहमा पनि । नेपालको सबैभन्दा महंगो होटल हायातमा आयोजना गरिएको 'एनएफडिसी अवार्ड'मा निकै न्यून संख्यामा चलचित्रकर्मीहरु उपस्थित थिए ।
अवार्डमा पुराना केही नायक-नायिकाहरु सहभागी भएपनि नयाँ कलाकारहरु खासै देखिएनन् । प्रियंका कार्की, नम्रता सापकोटा, आश्मा डिसी लगायत केही नायिकाहरु मात्र अवार्ड कार्यक्रममा देखिएका थिए भने नायकमा दयाहाङ् राई, रमेश उप्रेती, पृथ्वीराज प्रसाईमात्र देखिए । यो उदारहण के को पनि हो भने अब चलचित्रकर्मीहरुलाई नै अवार्डप्रति कुनै चासो छैन् । यसले विस्तारै नेपाली फिल्म अवार्डप्रति बाँकी रहेको विश्वशनियता पनि गुम्दै जाने खतरा बढेको छ ।