मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन गरे दीपक-दीपाले अवार्ड बहिष्कार ?

मनिष अन्जान, काठमाण्डौ, 2017/06/18
हिजो शनिवार राजधानीको पाँचतारे होटल हायातमा 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार' मा गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा'ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका र उत्कृष्ट हास्यकलाकारको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलालाई 'छक्का पन्जा'ले गायन, संगीतकार, नृत्य निर्देशक, छायाँकार र पटकथाको अवार्ड पाउने ठूलो आश थियो तर यी कुनै पनि विधामा फिल्मले अवार्ड पोल्टामा पारेन । 
 
अरु विधामा त दीपक-दीपाले चित्त बुझाए तर जब पटकथाको अवार्ड फिल्म 'पुरानो डुंगा'लाई दिइयो तब हाँस्दै अवार्ड कार्यक्रममा पुगेका दीपक, दीपा, जितु नेपाल, केदार घिमिरे आक्रोशित मुद्रामा घर फर्किए । पटकथा भनेको फिल्मको मुटु मानिन्छ । तर, त्यही मुटु मानिएको पटकथाको अवार्ड नपाएपछि दीपक-दीपाले अन्य विधामा पाएको अवार्ड लिनु उचित ठानेनन् र लुसुक्क कसैलाई पत्तो नै नदिइन अवार्ड कार्यक्रमबाट बाहिरिए । यो तब थाहा भयो जब 'कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक फिल्म'को पुरस्कार प्रदान गर्ने बेला आयो । गएको वर्ष सर्वाधिक व्यापार गरेको फिल्मको रुपमा 'छक्का पन्जा'लाई ५ हजार नगद राशीको पुरस्कार प्रदान गरिएको थियो तर आफ्नै अवार्ड लिन दीपक र दीपा स्टेज नचढेपछि केहीबेर ठूलो भूकम्प नै आएको थियो ।  
 
अवार्ड कार्यक्रममा रहेकी नायिका प्रियंका कार्की, नम्रता सापकोटा लगायतले दीपक र दीपालाई फोन गरे तर उनीहरु अवार्ड थाप्न नआउने बताएपछि प्रियंका आफै 'कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक फिल्म'को पुरस्कार थाप्न स्टेज चढिन् । हुनत, दीपक-दीपाले यो पहिलो पटक गरेका होइनन् । यसअघि पनि दुई अवार्ड कार्यक्रममा आफूले पाउनु पर्ने दाबी गरेको अवार्ड नपाएपछि हलबाट बिचमै निस्किएर हिँडेका थिए । 
 
हामीले यस विषयमा बुझ्न दीपक र दीपालाई फोन सम्पर्क गरेका थियौं तर फोन उठेन । पटकथाको अवार्ड अर्को फिल्मले पाएपछि दीपक र दीपाले अन्य विधामा आफ्नो फिल्मले पाएको अवार्ड नथाप्ने भन्दै बहिष्कार गरेको निर्णयले अहिले सिनेवृत राम्रै गर्माएको छ । नायिका प्रियंका कार्कीले 'छक्का पन्जा'बाटै उत्कृष्ट नायिकाको अवार्ड उचालिन् तर 'छक्का पन्जा'बाटै उत्कृष्ट हास्यकलाकारको अवार्ड पाएका केदार घिमिरे भने दीपक र दीपासँग एकसाथ हलबाट बाहिरिएका थिए । केदारले पनि आफूले पाएको हास्यकलाकारको अवार्ड लिएनन् । 
 
दीपक-दीपाको निर्णय सही हो ? 
दीपक र दीपाको यो कदमलाई धेरैले गलत मानेका छन् । पटकथाको अवार्ड 'छक्का पन्जा'ले पाउनु पर्थ्यो वा 'पुरानो डुंगा'ले भन्ने तर्क मिडिया र चलचित्रकर्मीहरुले गर्ने कुरा हो । दीपक र दीपाले अवार्ड बहिष्कार गरेर हिँडेपछि धेरैको प्रश्न अहिले एउटै छ, 'के दीपक र दीपालाई आफ्नो फिल्मले सबै विधामा अवार्ड पाउनु पर्ने हो ?' हिजो देखिएको घट्नाले यस्ता प्रश्न उठ्नु अस्वभाविक पक्कै होइन । पटकथाको अवार्ड 'पुरानो डुंगा'ले पाएका कारण दीपक-दीपकले अवार्ड बहिष्कार गरेका हुन् वा अरु केही कारण थियो ? अब यसको उत्तर त दीपक र दीपाले नै दिनेछन् । 
 
'पुरानो डुंगा'ले पटकथाको अवार्ड पाउनु गलत हो ? 
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'पुरानो डुंगा'ले समिक्षकहरुबाट गतिलो तारिफ पाएन । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको 'पुरानो डुंगा'को सबैभन्दा कमजोर पटकथा नै मानिएको थियो । फिल्मको 'हे नीर' बोलको गीतले बजार पिटेपनि फिल्मको पटकथा बलियो नहुँदा 'पुरानो डुंगा'ले गतिलो समिक्षा पाउनबाट चुकेको थियो । धेरैले यो अनुमान लगाएका थिए कि यस वर्ष 'जात्रा' र 'छक्का पन्जा' मध्ये एकले पटकथाको अवार्ड उचाल्नेछन् । तर, एनएफडिसी अवार्डमा यसको विपरित रिजल्ट आयो । न 'जात्रा'ले पटकथाको अवार्ड पायो नत 'छक्का पन्जा'ले । फिल्म 'पुरानो डुंगा'का रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पटकथातर्फको अवार्ड उचाले । एनएफडिसी अवार्ड कार्यक्रममा सहभागी धेरैले जूरीहरुको यो निर्णयलाई गलत पनि मानेका छन् ।