२०६९ साल बैशाख २९ गते प्रदर्शनमा आएको फिल्म 'सायद'को सिक्वेल 'सायद २' असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । यसको पहिलो भागलाई युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म 'सायद २' लाई पनि दर्शकहरुले रुचाउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ ।
यो फिल्मको केही दिन अगाडि ‘पहिलो प्रेम...’ बोलको रोमान्टिक गीत रिलिज भएको थियो । गीतको भिडियोमा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठले अभिनय गरेका छन् । यो गीतमा सुगम पोखरेलको शब्द, संगीत र स्वर छ । भिडियोमा मनाङको दृश्यलाई कैद गरिएको छ ।
फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।
युवापुस्ता लक्षित सिनेमा निर्माण गर्दै आइरहेको दुर्गिश फिल्मसले यसअघि 'सायद' सँगै 'सायद २', 'होस्टेल', 'होस्टेल रिर्टन्स' फिल्म निर्माण गरिसकेको छ भने ‘लाउरे’ को छायांकन भैरहेको छ ।