मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ऐश्वर्य'ले तिहार नछोड्ने, रमेश उप्रेती भन्छन्, 'यो मेरो कमब्याक'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/14
यस वर्षको सबैभन्दा ठूलो भिडन्त हुँदैछ कार्तिकमा । रमेश उप्रेतीको निर्माण र अभिनिय रहेको फिल्म 'ऐश्वर्य', रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म 'रुद्र प्रिया' र अनमोल केसी स्टारर फिल्म 'कृ' क्रमशः कार्तिक १, २ र ३ गते रिलिज हुँदैछन् । 
 
रमेश उप्रेतीले तिहारलाई लक्षित गर्दै आफ्नो फिल्मको रिलिज काग तिहारको दिन घोषणा गरेपछि नायिका रेखा थापाले पनि त्यसको दोस्रो दिन अर्थात लक्ष्मी पूजाको दिन 'रुद्र प्रिया' रिलिज गर्ने घोषणा गरिन् । 'रुद्र प्रिया' को छायांकन बन्दीपूरमा भैरहँदा अनमोल केसीको 'कृ' लक्ष्मी पूजाको भोली पल्ट अर्थात कार्तिक ३ गते रिलिज हुने निर्माणपक्षले जानकारी दियो । यसकारण तिहारलाई लक्षित गरेर रिलिज फाइनल गरेका तीन फिल्मको भिडन्तको चर्चाले पनि अहिले सिनेवृत गर्माउन थालेको छ । 
 
'रुद्र प्रिया' र 'कृ' रिलिज हुने भएपछि रमेश उप्रेतीले 'ऐश्वर्य'को रिलिज पोस्टपोन्ड गर्ने चर्चा पनि खुबै चलेको थियो तर उनले फिल्म कार्तिक १ गते नै रिलिज हुने औपचारिक जानकारी दिएका छन् । 'फिल्मीखबर डटकम' सँग कुराकानी गर्दै उनले भने, 'मैले कार्तिक १ गतेलाई फिल्मको रिलिज फाइनल गरेको थिए । र, 'ऐश्वर्य' कार्तिक १ गते नै रिलिज हुन्छ । सबैलाई आफ्नो स्वतन्त्रता छ जहिले जून मितिमा पनि आफ्नो फिल्म रिलिज गर्न पाउने । हामीले चाहिँ पहिला नै फिल्मको रिलिज घोषणा गरेका कारणले कार्तिक १ गते नै 'ऐश्वर्य' रिलिज गर्नेछौं ।' 
 
उनले अगाडि भने, 'पहिला 'ऐश्वर्य'को रिलिज दशैमा हुने कुरा थियो तर त्यही मितिमा दीपकराज गिरीको फिल्म 'छक्का पन्जा २' रिलिज हुने भएपछि हामीले समझदारीमा 'ऐश्वर्य'लाई कार्तिक १ गते रिलिज गर्ने फाइनल गरेका थियौं ।'
 
दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्मको अहिले डबिङको काम धमाधम भैरहेको छ । फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । दीपिकाको लागी यो फिल्म डेब्यू हुनेछ । उनले फिल्ममा सुपर मोडलको रुपमा काम गरेकी छिन् । 
 
नायक रमेश उप्रेतीले आफ्नो कमब्याक फिल्मको रुपमा 'ऐश्वर्य'लाई लिएका छन् । त्यसो भए 'ब्रासलेट' नी ? हाम्रो प्रश्नको उत्तर दिँदै रमेश उप्रेती भन्छन्, 'खासमा म दर्शकमाझ यो माध्यमबाट जोडिन्छु भन्ने फिल्म चाहिँ 'ऐश्वर्य' हो । 'ब्रासलेट' त मैले साथीभाईको सम्बन्धको कारणले गरेको थिएँ । हो, दर्शकमाझ चाहिँ 'ब्रासलेट'बाट रमेश उप्रेती कमब्याक गर्दैछ भन्ने जानकारी दिएको थियो । तर म जून फिल्म, जस्तो फिल्मबाट कमब्याक गर्छु भन्ने सोच बनाएको थिए त्यो चाहिँ 'ऐश्वर्य' हो । त्यसैले वास्तविक कमब्याक चाहिँ मेरो 'ऐश्वर्य' हो । 
 
वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको फिल्ममा प्रसान्त ताम्राकार पनि लिड अभिनयमा छन् । राजेश श्रेष्ठले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।