केही हप्ता अगाडि हामीले 'निखिल र एफडी बिच विवाद, आखिर किन ?' शिर्षकमा एक समाचार प्रकाशन गरेका थियौं, जहाँ लेखिएको थियो कि नायक निखिल उप्रेतीको होम प्रोडक्सनको फिल्म 'रुद्र' साउन २० र अर्को उनी अभिनित फिल्म 'संरक्षण' साउन १३ गतेबाट हलमा लाग्दैछ । एक हप्तामा अन्तरमा एउटै स्टारको फिल्म हलमा लाग्ने भएपछि निखिल र वितरक कम्पनी एफडी बिच चर्को विवाद उत्पन्न भएको थियो ।
निखिलले साउन २० गते नै आफ्नो फिल्म 'रुद्र' रिलिज गर्ने ढिप्पी कसेपछि 'संरक्षण'ले पनि साउन १३ गतेबाट पछाडि सर्ने छाँटकाट देखाएन । यति सम्मकी निखिलले साउन २० गते 'रुद्र' रिलिज नभए साउन १३ गते नै आफ्नो फिल्म रिलिज गर्ने समेत बताएका थिए ।
एफडीले 'संरक्षण' र 'रुद्र' को रिलिज डेट मिलाउन नसक्दा अब दुवै फिल्म एकै मितिमा रिलिज हुने भएका छन् । हो, अब साउन १३ गते निखिल अभिनित दुई फिल्म 'रुद्र' र 'संरक्षण' एकसाथ हलमा लाग्नेछन् । निर्माता समेत रहेका निखिल उप्रेतीले हालैमा आफू अभिनित फिल्म 'रुद्र'को नयाँ रिलिज डेट कन्फर्म गर्दै फर्स्टलुक पोष्टर सार्वजनिक गरेका छन् । फर्स्टलुक पोष्टरमा फिल्मको रिलिज डेट साउन १३ गतेलाई फाइनल गरिएको छ ।

यस विषयमा 'फिल्मीखबर डटकम'सँग कराकानी गर्दै एफडी कम्पनीका नरेन्द्र महर्जनले भने, 'आपसी समझदारीमा हामीले 'रुद्र' र 'संरक्षण'लाई साउन १३ गते ल्याउन लागेका हौं ।' उनका अनुसार, दुवै फिल्म एफडीले नै वितरण गर्दैछ । यो मितिमा 'रुद्र' र 'संरक्षण' मात्र होइन यसवर्षको प्रतिक्षित फिल्म 'प्रेमगीत २' पनि रिलिज हुँदैछ । साउन १३ गते तीन फिल्म एकसाथ हलमा लाग्ने भएपछि अहिले यो मितिलाई वर्षकै ठूलो भिडन्तको रुपमा हेरिएको छ ।
फिल्म 'रुद्र' मा नायक उप्रेती पहिलो पटक भिलेनको भूमिकामा देखिँदैछन् । सार्वजनिक फर्स्टलुक पोष्टरमा निखिलको एङ्ग्री लुक्स समावेश छ भने मुख्य कलाकार रहेका डेब्यू अभिनेता अभिनेत्री द्वय विश्व र सारालाई प्रेमभावमा देख्न सकिन्छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ । सौरभ लामा फिल्मका सिनेम्याटोग्राफर हुन् । फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

