
५ वर्षपछि एक्सन नायक विराज भट्ट गएको वर्ष रिलिज भएको फिल्म 'जय परशुराम' मार्फत नेपाली फिल्ममा कमब्यक गरे । ५ वर्षपछि कमब्याक गरेका विराजको 'जय परशुराम' ले बम्पर कमाई गर्ने विश्वास सबैको थियो तर सोचे जस्तो पैसा निर्माताले खल्तीमा हाल्न पाएनन् । अर्थात यो भनौं 'जय परशुराम' घरेलू बजारमा असफल सावित भयो ।
'जय परशुराम' हिट नहुँदा अब फेरी विराज भोजपुरी फिल्ममा नै व्यस्त हुने चर्चा पनि नचलेको होइन तर अब उनी चाँडै नयाँ फिल्म लिएर दर्शकमाझ आउने भएका छन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा देखिएका विराजले आफू 'जय परशुराम' पछि नेपाली फिल्मबाट टाढा नभएको बताए ।
उनका अनुसार, अहिले नयाँ फिल्मको कथा लेखन कार्य भैरहेको छ । उनी भन्छन्, 'नेपाली र भोजपुरी फिल्ममा काम गर्दा यता र उताको संस्कृति साटासाट हुन्छ । म भोजपुरी र नेपाली फिल्मलाई जोड्न चाहन्छु । दुई फिल्म क्षेत्रबिच निकटता कायम गर्न म प्रयासरत छु ।'
उनको नयाँ फिल्मको नाम 'हर्के राजा' राखिएको छ । उनले आफ्नो नयाँ नेपाली फिल्मको बारेमा अन्य जानकारी दिन नचाहेपनि कलाकार दीपक घिमिरे र सन्दीप साटकोटा भने फिल्मको मुख्य भूमिकामा फाइनल भैसकेको जानकारी दिए । यो फिल्मको छायांकन साउन २९ गतेबाट सुरु हुँदैछ ।

