Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपडेट : रेखाको 'रुद्र प्रिया'सँग अनमोलको 'कृ' भिड्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/06/12
केही दिन अगाडि हामीले 'छक्का पन्जा २' सँग अनमोल केसी स्टारर फिल्म 'कृ' भिड्ने विषयमा एक समाचार प्रकाशन गरेका थियौं । उक्त समाचारले सिनेवृतमा ठूलै भूकम्प ल्याएको थियो । तर, अब 'छक्का पन्जा २' सँग लड्न असोज ११ गते फिल्म 'कृ' हलमा नलाग्ने भएको छ । 'फिल्मीखबर डटकम' लाई प्राप्त जानकारी अनुसार, अब 'कृ' कार्तिक ३ गते गोवद्र्धन पूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउनेछ । यसको अघिल्लो दिन अर्थात कार्तिक २ गते बिहीवार लक्ष्मी पूजाको दिन रेखा थापा स्टारर फिल्म 'रुद्र प्रिया' र रमेश उप्रेतीको निर्माण र अभिनय रहेको फिल्म 'ऐश्वर्य' रिलिज हुने फाइनल भैसकेको छ । 
 
केही दिन भित्रै टीजर सार्वजनिक गरेर निर्माणपक्षले फिल्म 'कृ' को औपचारिक रिलिज डेट घोषणा गर्ने तयारी थालेको छ । स्रोत भन्छ, 'फिल्मको छायांकन ढिला सुरु भएका कारण निर्धारित मिति भदौ ८ गते 'कृ' रिलिज गर्न असमर्थ भएका छौं । अब फिल्म 'कृ' कार्तिक ३ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ ।'  भदौ ८ गते 'कृ' नआउने भएपछि उक्त मितिमा रिलिज फाइनल गरेको निशा अधिकारीको निर्माणमा बनेको नायक सौगात मल्ल र नायिका वेनिशा हमाल अभिनित फिल्म 'झ्यानाकुटी' लाई भने ठूलो राहत मिलेको छ । हुनत, 'कृ' भदौ ८ मा आउने संभावना नदेखिएपछि उक्त मितिमा निशाले आफ्नो फिल्मको रिलिज फाइनल गरेकी थिइन् । 
 
'रुद्र प्रिया' र 'ऐश्वर्य' सँग फिल्म 'कृ'ले एकसाथ हलमा भिडन्त आरम्भ गर्ने भएपछि अहिले सबैको ध्यान कार्तिक ३ गतेतर्फ मोडिएको छ । यी तीन फिल्म मध्ये कसले आफ्नो रिलिज पोस्टपोन्ड गर्ने हुन यसको पनि प्रतिक्षा सुरु भएको छ । सिंगल हलकी बादशाह मानिने रेखा र आर्यनसँग मल्टिप्लेक्स अनुहार अनमोल केसी भिड्नु आफैमा ठूलो चुनौती हो । तर, अब यो त कार्तिक ३ गतेको बिहानीसँगै थाहा हुनेछ कि एकसाथ तीन फिल्म रिलिज हुँदा घाटा कसलाई हुने हो । 
Most Visited News (monthly)