.jpg)
एकै मितिमा एकभन्दा बढी फिल्मले एकसाथ सिनेमा घरमा भिडन्त आरम्भ गर्नु यहाँ अहिले सामान्य बनिसकेको छ । हाल अनमोल केसी स्टारर फिल्म 'कृ' सँग निशा अधिकारीले निर्माण गरेको वेनिशा हमाल र सौगात मल्ल स्टारर फिल्म 'झ्यानाकुटी' ले भदौ ८ गते एकसाथ भिडन्त गर्ने चर्चा चलिरहँदा साउन २० गतेको भिडन्तले पनि सिनेवृत गर्माउन थालेको छ । यो मितिमा नायक निखिल उप्रेती स्टारर फिल्म 'रुद्र' र रमेश बुढाथोकी र सिपोरा गुरुङ अभिनित फिल्म 'भुईँमान्छे' एकसाथ रिलिज हुँदैछन् । फिल्म 'भुईँमान्छे' को टीजर समेत रिलिज भैसकेको अवस्थामा 'रुद्र' को भने फस्टलुक पोष्टर समेत बाहिरिएको छैन ।
निखिल अभिनित फिल्म संरक्षण साउन १३ गतेबाट अल नेपाल रिलिज हुन लागेका कारण साउन २० गते आउने उनी अभिनित अर्को फिल्म 'रुद्र' को रिलिज डेट पोस्टपोन्ड हुने प्रायः निश्चित छ । एक हप्ताको अन्तरमा निखिल अभिनित दुई फिल्मले हलमा भिडन्त गर्ने छाँटकाट देखिएपछि अहिले निर्माणपक्ष 'रुद्र' को रिलिज केही पछाडि सार्ने तयारीमा रहेको स्रोत बताउँछ तर यसको औपचारिक जानकारी भने प्राप्त भएको छैन । यदी यसो भएन भनेपनि 'रुद्र' ले साउन २० गते सोलो रिलिजको मौका भने पाउने छैन । योसँग भिडन्त गर्न फिल्म 'भुईँमान्छे' तयारी अवस्थामा छ ।
दैनिक रुपमा लाशसँग खेल्ने पोष्टमार्टमको काममा लाग्ने व्याक्तिको कथा बनेको फिल्म 'भुईँमान्छे' मा राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोराको मुख्य भूमिका छ । नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यो फिल्ममा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । त्यस्तै, फिल्म 'रुद्र' लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । यो फिल्ममा निखिल भिलेन अवतारमा प्रस्तुत भएका छन् ।

