
कलाकार प्रेम सुब्बाको डेब्यू निर्देशनमा निर्माण भएको फिल्म 'तारेभीर' असार २ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । केही हप्ता अगाडि सार्वजनिक ट्रेलरमा देखिएको 'लेडी एक्सन' का कारण पनि फिल्म 'तारेभीर' कस्तो बनेको होला भन्ने जिज्ञासा दर्शकहरुको मनमा उब्जिरहेको छ । वास्तविक कथामा आधारित नारी एक्सनप्रधान फिल्म 'तारेभीर' मा दुई छोरी मात्र भएको परिवारले भोग्नुपरेको सामाजिक कथालाई उन्ने प्रयास गरिएको छ । फिल्म नायिकाप्रधान भएकाले कलाकारहरू कथाभित्रका दिदीबहिनी विष्णु चेम्जोङ र रेखा फागोको वरिपरि घुम्छ ।
फिल्मकी मुख्य पात्र रेखा फागोले 'फिल्मीखबर डटकम' सँगको कुराकानीको क्रममा 'तारेभीर' ले समग्र नेपालीको कथा बोकेको बताइन् । ट्रेलरमा देखिएको 'लेडी एक्सन'को चर्चाले सिनेवृत तातिरहेको अवस्थामा रेखाले भनिन्, 'फिल्म खेल्ने मेरो सानैदेखिको चाहना हो । त्यसैले नै फिल्म क्षेत्रमा आएकी हुँ । 'तारेभीर' मेरो डेब्यू फिल्म भएपनि राम्रो काम गरेको छु जस्तो लागेको छ ।'
ट्रेलरमा धमाकेदार अवतारमा प्रस्तुत हुनुभएको छ नी, किन ? भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै उनले भनिन्, 'आफ्नो सुरक्षाका लागि म फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएकी हुँ । फिल्ममा मलाई मेरो भूमिका सम्झिएर नै आनन्द आउँछ ।'
फिल्ममा एक्सन दिन गर्दाको दिन सम्झिँदै उनले अगाडि भनिन्, 'फिल्ममा एक्सन सिन गर्दा रियलमै दुई/तीन जना केटाहरुलाई ढालेको छु । फिल्ममा मैले धेरै जसो रियल एक्सन दिएकी छु ।' उनका अनुसार, 'तारेभीर' महिलाप्रधान फिल्म हो ।
विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्मलाई डि.के. दीवानले निर्माण गरेका हुन् ।

