.jpg)
भोली शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म हो, 'लाल्टिन'। प्रियंका कार्की र दयाहाङ् राईको जोडीलाई फेरी 'लाल्टिन' मार्फत दर्शकहरुले एकसाथ पर्दामा देख्न पाउँदैछन् । ट्रेलर र गीत-संगीतबाटै प्रतिक्षित बनेको फिल्म 'लाल्टिन' ले रिलिजको संघारमा पनि आफ्नो प्रचार-प्रसारमा कमी हुन दिएको छैन् ।
यसै क्रममा 'लाल्टिन' टीमले काठमाण्डौ, भक्तपुर र ललितपुरमा 'रोड कन्सर्ट' गर्दै प्रचार-प्रसारलाई थप व्यापक बनाएको छ । कन्सर्टमा गायक विनोद ढकाल, कलाकारहरु निर्जन थापा, राज कटुवालका साथमा विश्व क्रितिमानी दिनेश पारकर र अस्मिता जुरेली सहभागी थिए ।

रोड कन्सर्ट विभिन्न ८ वटा स्थानमा गरिएको थियो । कन्सर्ट गरिएको ८ वटै स्थानमा दर्शकको उपस्थिती उत्साहजनक रहेको निर्माता भानु प्रतापले जानकारी दिए । निर्माता प्रतापले भने, 'दर्शकहरुको यो साथ हलमा पनि देखिनेमा हामी विश्वस्त छौं ।'
देव कुमार श्रेष्ठको निर्देशनमा तयार फिल्ममा दया र प्रियंका कार्कीका अलावा निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

