
गायक प्रमोद खरेलले दुई हजार बढी गीतमा स्वर दिएका छन् । पछिल्लो समय स्टेजमा ब्यस्त प्रमोदलाई श्रोतामाझ स्थापित गराउने काम गर्योि 'मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा..' गीतले । फिल्म 'पल पलमा' को 'यो अँगालोभरिको माया...' मार्फत फिल्ममा पाश्र्व गायनसमेत थालेका गायक खरेलले करिब १ सयवटा नेपाली फिल्मका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
राप्ति, सेन्टिमेन्ट्स, प्रणय, प्रवेग, निर्झरी, हंगामा लगायतका एकल एल्बम बजारमा ल्याइसकेका प्रमोदको संघर्षका दिनपनि कम दर्दनाक छैनन् । एउटा गायक बन्नका लागि काठमाडौंको सडकमा खाली खुट्टा हिँडेकोदेखि म्यूजिक पढ्नका लागि भोकभोकै हिँडेका दिनहरु अझै पनि प्रमोदको मन मस्तिकमा ताजै छन् ।
'फिल्मी खबर' सँगको एक भेटमा प्रमोदले आफ्नो संघर्षका दिनहरु सम्झिए । उनले भने,'संगीत क्षेत्रमा लाग्नका लागि म्यूजिक स्कूल भर्ना हुनु पर्थ्यो । कलेज पढ्न घरबाट पठाएको पैसाले म्यूजिक स्कूलमा भर्ना भएको थिएँ । कलेज पढ्नु पर्थ्यो, म्यूजिक स्कूलमा पैसा तिर्नु पर्थ्यो त्यसका लागि होम ट्यूसन बढाउन थालेको थिएँ । त्यसैबाट आएको पैसाले कलेज र म्यूजिक स्कूल पढ्थें । संघर्षका दिनहरुहरुमा खाली खुट्टा काठमाडौंका सडकहरुमा धेरै हिँडियो, गाडी चढ्ने पैसा हुँदैन थियो, खाजा खाने पैसा थिएन । सबै छुट्याएर भएपनि म म्यूजिक स्कूलमा पढ्न जान्थें ।'
उनले अगाडि भने, 'मेरो पहिलो एल्बम आउँदा पनि मेरा साथी भाईहरुले दुःख-सुःख गरेर मलाई सहयोग गर्नुभएको थियो । अलि-अलि घरबाट आयो अलि-अलि होम ट्यूसन पढाएर भएपनि पहिलो एल्बम निकाल्नका लागि पैसा जम्मा गरेको थिएँ । पहिलो एल्बम ठिक-ठिकै चल्यो त्यस्तो बम्पर गएन । यति सम्मकी पहिलो एल्बम निकालेँ तर आफ्नै म्यूजिक भिडियो हेर्न टेलिभिजन थिएन । अरुको घरमा गएर टेलिभिजन हेर्ने गर्थेँ ।'
अहिले महिनाको लाखौं आम्दानी गर्ने प्रमोदका मै मोरो सोझो, लाइदेऊ न मायाले, चल बतास चल, ओई झुमा झुम्कावाली, उसले जति माया, आफ्नो भन्नु, मलाई जसले पनि लगायतका दजनौं गीतहरु सुपरहिट छन् ।

