
जेष्ठ १२ गतेबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म 'पर्व' मा समाबेश 'काले दाई' बोलको आइटम गीतले अहिले नेपाली बजारमा धुम मच्चाइरहेको छ । चिया पसलदेखि सार्वजनिक गाडी, साँस्कृतिक कार्यक्रमहरुमा अहिले यो गीत सर्वाधिक गुञ्जने गरेको छ । युट्युबमा मात्र करोड बढी भ्यू पाएको यो गीतमा निर्देशक निश्चल बस्नेत र नायिका माला लिम्बुले ठुम्का लगाएका छन् । यो गीतका कारण पनि फिल्म 'पर्व' लाई हलसम्म दर्शक तान्न ठूलै मद्दत पुगेको थियो । अब यो नाममा नेपाली फिल्म नै निर्माण हुने भएको छ ।
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'उमंग' का निर्देशक शिव शर्माले 'काले दाई' नाममा नेपाली फिल्म निर्माण गर्न लागेका हुन् । उनले यो नाम चलचित्र विकास बोर्डमा समेत दर्ता समेत गराइसकेका छन् । फिल्मको नाम 'पर्व' को आइटम गीत 'काले दाई' हिट भएपछि जुराउनु भएको हो ? भन्ने 'फिल्म खबर डटकम' को प्रश्नको उत्तर दिँदै निर्देशक शिव शर्माले भने, 'यो संयोग मात्र हो । हामीले स्क्रिप्टमा बस्दा खेरी नै फिल्मको नाम काले दाई राख्ने कुरा भएको थियो । यस्तैमा फिल्म पर्र्वको काले दार्ई बोलको आइटम गीत रिलिज भयो ।'
उनले अगाडि थप्दै भने, 'फिल्मको स्टोरीमा पनि काले दाई भन्ने एक पात्र छ । नाम कुलमान हुन्छ तर गाउँमा उसलाई सबैले काले दाई भनेर बोलाउने गर्छन । यो गण्डक क्षेत्रको कथा हो ।' उनले फिल्म कमेडी प्रधान रहेको पनि बताए ।
सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने यो फिल्मको छायांकन असार ५ गतेबाट सुरु हुनेछ । प्रकाश न्यौपाने फिल्मका निर्माता हुन् । 'काले दाई' का लागि कलाकारहरु समेत फाइनल भैसकेका छन् । फिल्ममा इन्द्र राम्जाली, अनु पराजुली, सुरेन्द्र केसी, सुजित थापा, सरु भट्ट, सुर्य चन्द, कविता शर्मा, राम थापा, गीता अधिकारी, शिशिर भण्डारी, गोविन्द श्रेष्ठ, चक्रध्वज भण्डारी, गीता नेपाल, जनक बर्तौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । काभ्रे, काठमाडौं, चितवनमा फिल्म खिचिनेछ ।

