
वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'प्रेमगीत'ले नायिका पूजा शर्मा र नायक प्रदीप खड्कालाई स्टार बनायो । साउन १३ गते 'प्रेमगीत' को सिक्वेल 'प्रेमगीत २' रिलिज हुँदेछ भने 'प्रेमगीत' को र्शीष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु' पनि असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । 'प्रेमगीत' मा नायिका पूजा शर्माले नायक प्रदीप खड्कालाई ‘तँ त मैले मात्र भन्न पाउँछु’ भन्ने संवाद बोलेकी थिइन्, जुन दर्शकहरुले खुबै रुचाएका थिए । अब 'म यस्तो गीत गाउँछु' मा पनि दर्शकहरुले पूजाको यो संवाद सुन्न पाउनेछन् । फिल्ममा पूजाले यो संवाद नायक पल शाहमाथि प्रयोग गरेकी छिन् ।
काठमाण्डौको सिने जोन स्टूडियोमा अहिले फिल्मको डबिङ भैरहेको छ । डबिङको क्रममा उनले अर्को संवाद बोलिन्–‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसँगै लिन पाए ।’ निर्देशक सुदर्शन थापा पूजालाई संवाद शैली सिकाउँदै थिए । उनले अर्को रमाइलो संवाद बोलिन्–‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’

फिल्म भित्र पनि पलको नाम ‘पल’ नै हुनेछ । पूजाले एउटा यस्तो संवाद डबिङ गरिन्–‘सबैथोक आफूले चाहेको मात्र हुँदोरहनेछ पल ।’ फिल्मको ‘भन्छु आज’ बोलको गीतको भिडियोलाई अहिले दर्शकहरुले अत्याधिक रुचाइरहेका छन् । प्रेमकथामा आधरित यो फिल्मको बारेमा पूजा भन्छिन्–‘यसपटक पनि दर्शकले मलाई फिल्म हेरिसकेपछि संझने धेरै संवादहरु फिल्ममा छन् । गीतको रुपमा ‘प्रेमगीत’मा दर्शकले मलाई जसरी रुचाइदिनुभयो, त्यसरी नै ‘म यस्तो गीत गाउँछु’बाट माया पाउनेमा ढुक्क छु ।’
संजय लामाले खिचेको चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सुदर्शन थापा, दिनेश न्यौपानेको पटकथा तथा संवाद, विश्व गौतमको कस्ट्यूम डिजाइन छ । फिल्ममा पल र पूजाका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

