
गएको शुक्रवारबाट दुई फरक स्वादका सिनेमा 'रातो घर' र 'जालो' ले आफ्नो प्रदर्शन आरम्भ गरेका थिए । प्रदर्शनको दिन शुक्रवार दुवै फिल्मको ओपनिङ औसत रहेपनि शनिवारदेखि भने 'जालो' र 'रातो घर' ले उल्लेख्य संख्यामा दर्शक हलसम्म तान्न सफल भएको निर्माता बताउँछन् । 'जालो' निर्देशक अराजकेशव गिरीले फिल्मलाई दर्शकहरुले मनपराएको दावी गर्छन् भने 'रातो घर' का निर्देशक सुरज सुब्बा 'नाल्बो' पनि फिल्म हेरेका दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको बताउँछन् ।
निर्देशक सुरज सुब्बा 'नाल्बो' ले फिल्म 'रातो घर' को विषयमा जानकारी दिँदै भने, 'शुक्रवार फिल्मको बम्पर ओपनिङ नभएपनि देशभर सुखद नै रह्यो । शनिवारदेखि सम्पूर्ण हलहरुमा 'रातो घर' लाई दर्शकहरुले राम्रो साथ दिएका छन् । फिल्म हेरेर फर्किएका दर्शकहरुबाट पाएको सुखद प्रतिक्रिया म निकै खुशी छु । दर्शकहरुले फिल्मको कथावस्तु र विल्सन विक्रम राईको अभिनयलाई निकै रुचाएका छन् ।'
आजबाट काठमाडौंको सिटी सेन्टरमा रहेको बिग मुभिजमा 'रातो घर' ले थप १ शो पाएको छ । यसअघि बिग मुभिजले २ शो दिएको थियो । निर्देशक सुरज सुब्बाका अनुसार, सिंगल र मल्टिप्लेक्स दुवैमा फिल्म हेर्ने दर्शकहरु बढिरहेका छन् । 'रातो घर' मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर, माला लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।
मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको 'रातो घर' का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको 'रातो घर' मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । फिल्मले 'कालो काम गर्नेको सेतो कथा' भन्ने नारा बोकेको छ ।

