भदौ ३० गतेलाई रिलिज डेट लक गरिएको नायिका संचिता लुईटेल स्टारर फिल्म लिलाको पहिलो गीत रिलिज भएको छ । 'ढाकाकै चोली' मा बोलको लोक फ्लेवरको गीतमा नायिका संचिता लुईटेल र नायक राज कुटवाल फिचरिङ छन् । सिक्किम र दार्जलिङका बिभिन्न स्थानमा खिचिएको भिडियोमा राज र संचिताको केमेष्ट्री लोभलाग्दो छ । गीतमा संचिता र राज एकअर्काको तारिफ गरिरहेका छन् । लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा कमल राईले कोरियोग्राफी गरेका छन् ।
यो फिल्ममा संचिता र राजका अलावा मलिना जोशी, ध्रुव कोइराला, मुकुन्द किशोर भट्टराई, दिनेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । काठमाडौं, चितवन, सिक्कम, दार्जिलिङ, सिलगुढी लगायतका ठाउँमा खिचिएको फिल्म 'लिला' मा संचिताले मलिना जोशीको दिदीको भूमिका निर्वाहा गरेकी छिन् ।
सिपी पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बस्नेत र विमला घिमिरे पनि निर्माताको रुपमा छन् । फिल्मको कथा लक्ष्मण बस्नेतले लेखेका हुन् भने अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । शिव ढकालले फिल्ममा क्यामेरा चलाएका हुन् । ‘लिला’लाई निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

