
काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको 'धुर्मुस-सुन्तली फाउण्डेशन'ले फेरी नयाँ प्रोजेक्टको घोषणा गरेको छ ।
'नमुना नेपाल' नाम दिइएको नयाँ प्रोजेक्टको सोमवार राजधानीमा एक कार्यक्रमका बिच औपचारिक घोषणा गरियो । 'नमुना नेपाल' ५ अर्बको लागतमा निर्माण गर्ने लक्ष्य फाउन्डेशनको छ । ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर 'धुर्मुस-सुन्तली फाउण्डेशन'ले यो महत्वाकांक्षी प्रोजेक्ट निर्माणको अवधारण अगाडि सारेको हो । ५ सयदेखि १ हजार रोपनी जग्गामा 'नमुना नेपाल' निर्माण हुने फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए ।
“सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल,” नमुना नेपालको घोषणा कार्यक्रममा बोल्दै सिताराम कट्टेल (धुर्मुस) ले भने, “यो ऐतिहासिक र राष्ट्रिय गौरवको परियोजना तपार्इहरुको साथ र सहयोग बिना सम्भव छैन् । ‘नमुना नेपाल’ हाम्रो सबैभन्दा ठूलो परियोजना र नेपाल चिनाउने अभियान समेत हो ।” उनले अगाडि थप्दै भने, 'एउटै कम्पाउन्डभित्र हिमाल, पहाड र तराईको संरचनासहित देशका सम्पूर्ण जातजातीहरुको सांस्कृतिक प्रतिनिधित्व हुने गरि पीडित परिवारहरुको बासस्थान हो 'नमुना नेपाल' ।' 'नमुना नेपाल' एउटा सुन्दर पर्यटकीय गन्तव्य र देशकै गौरवको परियोजना रहेको पनि उनले बताए ।
सितारामका अनुसार, हरेक नेपालीले २ सयका दरले सहयोग गरेपनि 'नमुना नेपाल' निर्माणका लागि ६ अर्ब उठ्नेछ । उनी अगाडि भन्छन्, 'विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।'
त्यस्तै, फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) ले 'नमुना नेपाल'ले सिंगो देश नेपाललाई जोड्ने बताइन् । उनले भनिन्, 'सम्पूर्ण जातजाती, धर्म संस्कृती र रीति-रिवाजको साझा फूलवारी हो 'नमुना नेपाल' । यो अभियानमा सम्पूर्णको सहयोग मिल्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।'
'नमुना नेपाल' को कम्पाउन्ड भित्र सम्पूर्ण जातजातीहरुको सांस्कृतिक प्रतिनिधित्व हुने गरि पीडित परिवारहरुको एकिकृत बसोबास, विभिन्न धर्म संस्कृतिका भिन्न-भिन्नै केन्द्रहरु, सम्पूर्ण नेपालको पहिचान झल्कने राष्ट्रिय संग्रालय, भूकम्पले भत्काएको धरहराको सम्झनामा आकर्षक धरहर भ्यू टावर, हिमाल तराई र पहाड जोड्ने मनोरञ्जनात्मक मिनी रेल सेवा, खेल मैदान, विद्यालय, सामुदायिक भवन, अतिथी गृह, चमेना गृह र स्वास्थ्य केन्द्र रहनेछन् ।

