
हिजो शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको फिल्म 'जालो' ले अहिले दर्शकहरुबाट सुखद प्रतिक्रिया बटुलिरहेको छ । वानसट्मा खिचिएको फिल्म भएका कारण पनि दर्शकहरुमा 'जालो' कस्तो बनेको होला भन्ने जिज्ञासा थियो र त्यो जिज्ञासालाई 'जालो' ले खुशीमा परिणत गर्न सफल भएको निर्देशक अराजकेशव गिरी बताउँछन् । फिल्म हेरेका दर्शकहरुले सिनेम्याटोग्राफर हरी घले लामाको कामको प्रशंसा गरेका छन् भने कलाकारहरुको कामको पनि तारिफ गरेका छन् । सस्पेन्स थ्रिलर फिल्म 'जालो' मा बरिष्ठ कलाकार नीर शाह उद्योगपतिको भूमिकामा देखिएका छन् । प्रत्येक १० देखि १५ मिनेटमा फिल्मको कथाले नयाँ मोड लिन्छ, जसले दर्शकहरुलाई पूरा फिल्म अवधिभर बाँधेर राख्न सफल भएको छ ।
पूरा फिल्म क्यामेरा अफ नगरि वानसट्मा खिचिएका कारण पनि 'जालो' मा निर्देशक अराजकेशव गिरी र सिनेम्याटोग्राफर हरी घले लामाको काम प्रशंसनीय देखिन्छ । ४ घण्टासम्म क्यामेरा अफ नगरि लगातार वानसट्मा 'जालो' र 'जालो रिर्टन्स' खिचिएको थियो । 'जालो' को अन्त्यमा 'जालो रिर्टन्स' को पनि केही अंश देखाइएको छ । 'जालो रिर्टन्स' भने संभवत अर्को बर्ष रिलिज हुनेछ । विश्व कीर्तिमान राख्ने दौडमा रहेको 'जालो' अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।

