मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

रेखा थापा : 'पलाँस' पछि 'डायरी' ले दियो धोका

मनिष अन्जान, काठमाण्डौ, 2017/06/02
केही वर्ष अघिसम्म यस्तो थियो नायिका रेखा थापाका फिल्म भन्नसाथ हलमा दर्शकहरुको थामिनसक्नुको भिड जम्मा हुन्थ्यो । पर्दामा सधै हिरो अवतारमा प्रस्तुत हुने रेखालाई दर्शकहरुले ताली र सुठ्ठीले पटक-पटक स्वागत गरे । उनका फिल्महरुले घरेलू बजारमा पैसा पनि राम्रै छापे । उनको इन्ट्रीको अगाडि नेपालका बलियो स्टारडम भएका नायकहरुको समेत खुट्टा काप्थ्यो । फिल्ममा नायकलाई समेत छाँयामा पारेर रेखाले आफ्नो स्टारडमको परिक्षा बारम्बार दिइरहिन् । र, सधै सफल ठहरिइन् पनि । उनले जुन मितिमा आफ्नो फिल्म रिलिज गर्ने घोषणा गर्छिन त्यो मितिमा स्टार नायकको फिल्म समेत भिड्ने आँट गर्दैन थिए । कुनै दिन उनका फिल्म हेर्न मरिहत्ते गर्ने दर्शकहरु अब भने विस्तारै बाटो मोड्दैछन् । 
 
केही दिन अगाडि नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइरालाले एक अन्तर्वार्तामा भनेकी थिइन्, 'पहिला तपाईलाई निकै मिहिनेत गरेर माथि पुग्नु पर्छ र माथि पुगेपछि पनि तपाईसँग कुनै ग्यारेन्टी हुन्न कि तपाई कहिलेसम्म त्यहाँ टिक्न सक्नुहुन्छ । एक फिल्म फ्ल्प भएपछि तपाई एक्लो महशुस गर्न थाल्नुहुन्छ । जुन दर्शकले तपाईलाई रुचाउँछन् उनीहरु उसैसँग जान्छन् जसको फिल्म हिट हुन्छ ।' हो, रेखाको हकमा पनि अहिले यस्तै भएको छ । रेखाले नेपाली फिल्ममा पाइला टेक्दाको दुःखदेखि माथि पुग्दाको अनुभव सबै लिइसकेकी छिन् । उनलाई अहिले पनि नेपाली फिल्मकी 'नम्वर वान' नायिकाको रुपमा हेर्ने गरिन्छ । तर, एकपछि अर्को फिल्म फ्ल्प हुँदा अहिले रेखालाई रुचाउने दर्शकहरु पनि विस्तारै टाढा बन्दै गएका छन् । हुनत, यस्तो संसारमै भएको छैन् कि एउटा व्यक्ति एउटै स्थानमा टिकिरहेको होस् । र, यो कुरा नायिका रेखा थापाले पनि स्वीकार गरिसकेकी छिन् । 
 
नेपाली फिल्म क्षेत्रमा एकपछि अर्को नयाँ नायिकाहरुको आगमन बढ्दै जाँदा पुराना अभिनेत्रीहरुको व्यस्तता घट्दै मात्र होइन धेरै त पलायन समेत भैसकेका छन् । यो भिडमा नायिका रेखाले भने आफूलाई बारम्बार बलियो प्रस्तुत गरिरहेकी छिन् । आफ्नो ब्यानरमा बन्ने फिल्महरु रेखाका प्रायः हिट छन् तर पछिल्लो समय बाहिरी ब्यानरका फिल्मले उनको स्टारडम चौपट बनाउँदै गएका छन् । उनलाई केही वर्षदेखि आफ्नै ब्यानरकी हिट नायिका भनेर समेत आरोप लागिरहँदा उनले गएको वर्ष बाहिरी ब्यानरका तीन फिल्ममा काम गरिन् । जसमध्ये गएको वर्षको अन्त्यमा फिल्म 'पलाँस' रिलिज भएको थियो । पहिलो पटक 'पलाँस' मा 'कल गर्ल' बनेकी रेखालाई आफ्नो भूमिका दर्शकहरुले रुचाउनेमा ठूलो आश थियो तर त्यो रिलिजको दिन नै टुट्यो । 
 
'पलाँस' फूल्न नपाउँदै ओइलियो र रेखा पनि वर्ष २०७३ को फ्ल्प नायिकाको सूचीमा उभिइन् । यो रेखाका लागि सानो घाउ थिएन । 'पलाँस' असफल हुँदा बजारमा उनको स्टारडम बाँकी नरहेको बहस चल्न थाल्यो । 'म बाहिरी ब्यानरको पनि हिट नायिका हुँ' भन्ने खुशी बाढ्न नपाउँदै 'पलाँस' ले उनको त्यो सपना चकनाचूर पार्यो । र, उनलाई अर्को फिल्म 'डायरी' माथि भरोसा लाग्न थाल्यो । यही जेष्ठ ५ गते रिलिज भएको 'डायरी' मा रेखाले पहिलो पटक भिलेनको भूमिका निर्वाहा गरेकी थिइन् । तर, दुर्भाग्य रेखालाई 'डायरी' ले पनि कन्तविजोग बनायो । 'पलाँस' असफल हुँदा स्टारडम सकियो भन्ने हल्लाले भोकनिन्द्रा लुटेको बेला उनलाई 'डायरी' ले त्यसमाथि थप चोट दियो । 'डायरी' मा उनको स्टाइलिस लुक्सलाई रुचाएपनि दर्शकहरुले उनको डरलाग्दो भिलेन रुप देख्न पाएनन् । हुनत, रेखाले 'डायरी' रिलिज अगाडि एक अन्तर्वार्तामा भनेकी थिइन्, 'फिल्म असफल भएको खण्डमा म त्यसको जिम्मेवारी लिन तयार छु ।' 
 
रेखाका कारण फिल्म सफल वा असफल हुने पक्कै होइन तर उनको अनुहार हेर्नका लागि पनि सयौं दर्शकहरुको भिड हलमा ओहिरिने भएका कारण उनको करिअरलाई भने यसले धेरै ठूलो अर्थ राख्छ । फिल्म चल्नका लागि मुख्यतः कथावस्तु र प्रस्तुती नै बलियो हुनुपर्छ । यी कुरामा 'पलाँस' र 'डायरी' कति सबल थिए यो हामीले भन्दा पनि तपाईहरुले मुल्यांकन गरिसक्नु भएको छ । अब रेखाको अगाडि एउटा ठूलो चुनौतीको पहाड अडिएको छ, 'आफ्नो हातबाट गुमेको बलियो स्टारडम कसरी बचाउने ।' दुई फिल्म असफल हुँदा आफ्नो बलियो स्टारडमलाई पुगेको असर अब फिल्म 'रुद्र प्रिया' ले निको गर्नेमा रेखा विश्वस्त छिन् । अहिले यो फिल्मको सुट भैरहेको छ । करीब ७ वर्षपछि यो फिल्ममार्फत नायिका रेखा थापा र नायक आर्यन सिग्देल एकसाथ पर्दामा देखिँदैछन् । अब यस बर्षको लक्ष्मी पूजाका दिन रिलिज हुने 'रुद्र प्रिया' को व्यापारले नै यसको मापन गर्ने छ कि रेखाको स्टारडम सकियो वा जीवित नै छ ।