.jpg)
'बम्बे', '१९४२ : अ लव स्टोरी' र 'दिल से...' जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषा कोइराला एक पटक फेरी फिल्म 'डियर माया' बाट ठूलो पर्दामा कमब्याक गर्दैछिन् । आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा मनीषा कोइरालाले फिल्म इन्डस्ट्रीका धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी छिन् ।
बीबीसी हिन्दीसँग विशेष कुराकानी गर्दै मनीषा कोइरालाले आफ्नो पहिलो फिल्म 'सौदागर' मा दिलीप कुमारसँग विताएको पललाई सम्झिदै भनिन्, 'पहिलो फिल्ममा नै दिलीप कुमार र राजकुमार जीसँग काम गर्नु पर्दा म निकै डराएकी थिएँ । एक सीनपछि दिलीप कुमारले मेरो आमालाई भन्नुभयो कि उनीमाथि कसैको आँखा लाग्ला त्यसैले कालो टिका लगाइदिनुस् । उहाँले मेरो कामको तारिफ गर्दै आर्शीवाद पनि दिनुभयो । राजकुमार जीले पनि मलाई निकै माया गर्नु हुन्थ्यो ।'
राजनीतिक पृष्ठभूमि
नेपालको राजनीतिक परिवारसँग सम्बन्ध राख्ने मनीषा कोइरालालाई आमा-बुबाबाट फिल्ममा जानका लागि स्वीकृती थिएन । मनीषाले भनिन्, 'त्यसबेला फिल्म इन्डस्ट्रीको बारेमा निकै खराब कुराहरु लेखिने गरिन्थ्यो र राम्रो परिवारका यूवतीहरु फिल्ममा आउन सक्दैन थिए । मेरो आमा-बुबा पनि मलाई फिल्ममा जानबाट रोकिरहनु भएको थियो मात्र मेरो हजुरआमाले मलाई समर्थन गर्नु भएको थियो ।' जब उनले एकपछि अर्को राम्रो फिल्ममा काम गर्दै गइन् तब घरबाट पनि विरोध आउन छाड्यो ।
हिट र फ्ल्प
उनी भन्छिन्, 'हाम्रो व्यवसायमा निकै असुरक्षा छ । पहिला तपाईलाई निकै मिहिनेत गरेर माथि पुग्नु पर्छ र माथि पुगेपछि पनि तपाईसँग कुनै ग्यारेन्टी हुन्न कि तपाई कहिलेसम्म त्यहाँ टिक्न सक्नुहुन्छ । एक फिल्म फ्ल्प भएपछि तपाई एक्लो महशुस गर्न थाल्नुहुन्छ । जुन दर्शकले तपाईलाई रुचाउँछन् उनीहरु उसैसँग जान्छन् जसको फिल्म हिट हुन्छ । हामी सबै कलाकारहरु यो समस्याबाट जुधिरहेका हुन्छौं ।'
आफ्नो जिन्दगीमा कयौं हिट र फ्ल्प फिल्म गरिसकेकी मनीषाले करिअरमा कयौं उतारचढाव पनि देखेकी छिन् र सत्यताको स्वीकार पनि गरेकी छन् । जहाँ मनीषाले यति राम्रो फिल्म गरिन्, त्यहीँ इन्डस्ट्रीमा मित्रताका लागि पनि उनले केही नराम्रा फिल्ममा समेत काम गरिन् जसको मनीषालाई निकै अफसोस छ ।
'डियर माया'
मनीषालाई कुनै अफसोस छैन कि ९० को दशकका अभिनेताहरु अहिले पनि आधा उमेरका अभिनेत्रीहरुसँग हिरोको भूमिका निर्वाहा गरिरहेका छन् । उनी भन्छिन्, 'राम्रो फिल्म बनिरहेको छ भने त्यसमा काम गर्न कुनै अफ्ठ्यारो छैन् । अहिले अभिनेत्रीहरुलाई पनि राम्रो भूमिका मिलिरहेको छ । आजका दर्शकहरुको सोच बदलिसकेको छ, पर्दामा जवान अभिनेत्रीहरुको मात्र होइन अधबैंसे अभिनेत्रीहरुको कहानी पनि देख्न चाहन्छन् । मलाई आश छ कि भविष्यमा हामी जस्ता अभिनेत्रीहरुलाई अझ राम्रो अवसर मिल्नेछ ।'
सुनयना भटनागर द्वारा निर्देशित 'डियर माया' मा मनीषा कोइराला मुख्य भूमिकामा छिन् । फिल्म एक अधबैंसे महिलाको एक्लोपन र आशको कहानी हो । यो फिल्म २, जूनमा रिलिज हुँदैछ ।

