‘ह्यान्डसम भिलेन’को रुपमा दर्शकमाझ चिनिएका नायक अनुप विक्रम शाही एक नयाँ फिल्ममा विल्कुलै फरक गेटअपमा देखिँदैछन् । सायद अनुपको उक्त गेटअप देख्दा तपाईहरु आफै नै चकित पर्नुहुन्छ । रिलिज डेट लक नगरिएको फिल्म 'कमलेको बिहे' मा नायक अनुप विक्रम शाही लामो तर विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहित देखिएका छन् । फिल्ममा उनले बनारसमा शास्त्रिय विद्या पढेर गाउँ फर्किएपछि बिहेका लागि गरेको संघर्ष प्रस्तुत गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर जेष्ठ १५ गते युट्युबमा सार्वजनिक हुनेछ भने 'टाकन टुकन' बोलको गीत युट्युबमा रिलिज भैसकेको छ । गीतमा पनि अनुपको गेटअपले तपाईको ध्यान खिच्न सक्छ ।
सार्वजनिक 'टाकन टुकन' बोलको गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत सुन्न सकिन्छ भने राजन र गायिका मान्डवी त्रिपाठीको स्वर छ । सयौं म्यूजिक भिडियो निर्देशन गरेका प्रशन्न पौडेलले निर्देशन गरेको यो फिल्ममा अनुप विक्रम शाही (कमले) र सन्ध्या केसी (चमेली) को भूमिकामा छन् । फिल्ममा यो जोडीका अलावा विनोद न्यौपाने, इशान ढकाल, किरन लकौल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
अनुप विक्रम शाही अनुपस्थित ट्रेलर र गीत रिलिज कार्यक्रममा नायिका सन्ध्या केसी भने उपस्थित थिइन् । फिल्मको विषयमा बोल्दै नायिका सन्ध्याले 'कमलेको बिहे' मा आफूले पाएको भूमिका निकै सशक्त रहेको बताइन् । त्यस्तै, फिल्मको विषयमा बोल्दै निर्देशक प्रशन्न पौडेलले 'कमलेको बिहे' मा उठान गरिएको कथावस्तु हरेक घरमा घटेको घटना भएको बताए । उनले भने, 'यो फिल्म प्रेम विवाह र मागी विवाहबीचको वरिपरी घुमेको छ । कमलेले चाहेको केटी विवाह गर्छ कि गर्दैन भन्ने नै फिल्मको मुख्य विषयवस्तु हो ।'
फिल्ममा सरीता विष्ट, सुनिल विष्ट र मिलन लामाले संयूक्त लगानी छ । विदुर पाण्डेको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध, दिपकमान सिंहको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।
बताइदिउँ, यसअघि यो फिल्ममा अनुप विक्रम शाहीले निर्वाहा गरेको भूमिका अर्पण थापालाई अफर गरिएको थियो । यति सम्मकी अर्पणलाई अग्रिम रकम समेत दिइसकेको निर्माणपक्षको दावी छ । अर्पणले आफ्नो व्यस्त सेड्यूलका कारण यो फिल्ममा काम गर्न नभ्याएपनि 'कमले' को भूमिका अनुप विक्रम शाहीले पाएका हुन् । त्यस्तै, अनुपसँगै फिल्ममा केकी अधिकारी, रिमा विश्वकर्मा र बेनिशा हमालले समेत काम गर्ने कुरा थियो तरपछि उनीहरु पनि अन्य फिल्ममा व्यस्त भएका कारण काम 'कमलेको बिहे' मा गर्न सकेनन् ।