
प्रधानन्यायधिश शुशिला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि अहिले नेपाली राजनीतिमा तरंग नै उत्पन्न भएको छ । नेपाल प्रहरीको आइजीपी नियुक्तीमा बरियताक्रमलाई आफूखुसी व्याख्या गरेको लगायतका अभियोग लगाउँदै कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधानन्यायधिश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक दलका पार्टी भित्रै चर्को आलोचना भैरहेको छ भने आम जनताले पनि चर्को आलोचना गरिरहेका छन् । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेसँगै गहृमन्त्री विमलेन्द्र निधीले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् भने राप्रपा नेपालले पनि सरकार छाडिसकेको छ ।
कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोध यति बेला नेपाली कलाकारहरुले पनि गरेका छन् । हास्यकलाकारहरुल कांग्रेस नेता शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई व्यांग्य गर्दै आफ्नो आधिकारीक फेसबुकमा आक्रोस पोखेका छन् भने अन्य कलाकाहरुको पनि फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
हास्यकलाकार दीपकराज गिरीले लेखेका छन्, 'शब्दकोशमा शेरको अर्थ जंगलको राजा अर्थात जंगली शासन प्रमुख ।'
अर्का हास्यकलाकार जीतु नेपालले फेसबुकमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विषयमा आक्रोस पोख्नेहरुलाई नै व्यांग्य गर्दै लेखेका छन्, 'फेसबुकमा लेख्नेहरूले पनि बिचार गर्नु होला है, यता नी महाअभियोग लाग्ला ।'
त्यस्तै, नायिका केकी अधिकारीले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु निन्दनीय काम रहेको बताएकी छिन् । उनले आफ्नो फेसबुकमा स्टाटस कोर्दै लेखेकी छिन्, 'लोकतान्त्रिक शासन पद्धतीमा संसद सर्वोच्च हुनुपर्छ सर्वोपरी होइन । संसदको सर्वोच्चतालाई स्थापित गर्ने धाराहरुको कपटपूर्ण प्रयोग गर्दै दलगत राजनीतिक स्वार्थलाई सर्वोपरी बनाउने अभ्यास स्वरूप नेपालको प्रथम महिला प्रधानन्यायाधिश बिरुद्ध ल्याईएको महाभियोगको प्रस्ताव अत्यन्तै निन्दनीय छ। राजनीतिक हस्तक्षेप मुक्त स्वतन्त्र न्यायपालिकाको पक्षमा ऐक्यबध्द होऔं।'

