मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेशदेखी रेखासम्म, जसको बनेको हो स्टारडम कमजोर ?

मनिष अन्जान, काठमाण्डौ, 2017/04/29
कुनै समय यस्तो पनि थियो नायक राजेश हमालको टाउको पोष्टरमा अटाएमात्र पनि फिल्म सुपरहिट हुन्छ भनिन्थ्यो र अहिले यस्तो दिन पनि आएको छ कि हमालको टाउको पोष्टरमा अटाएमात्र पनि दर्शक नाक खुम्च्याउने गर्छन् । कारण, समय बदलियो, दर्शकहरुको सोच बदलियो, सिनेमाको र्फम्याट बदलियो अनि क्रमश बद्लिँदै गए सिनेमाको पर्दामा उदाउने स्टार कलाकार पनि । यो अनौठो त पक्कै होइन किनकी समयको अगाडी सबै चिजहरु परिवर्तन हुँदै जान्छन् । 
 
कुनै समय राजेश हमाल, भुवन केसी, विराज भट्ट, रेखा थापा जस्ता स्टारको फिल्म लाग्दा सिनेमा हलमा जुन चाप दर्शकको देखिन्थ्यो अहिले त्यो अनमोल केसी जस्ता नयाँ अनुहारको फिल्म हलमा लाग्दा हेर्न पाइन्छ । यसले के भन्छ भने नेपाली फिल्म क्षेत्रमा पनि पुस्ता हस्तान्तरण भैसकेको छ । 
 
कुरा गरौं गएको बर्ष अर्थात २०७३ को । यो बर्ष नेपाली सिनेमा हलमा ८८ फिल्म रिलिज भए तर लगानी सेभ गर्न भने आधा दर्जन फिल्मले मात्र मुश्किलले सफल भए । २०७३ मा स्टार भनिएका धेरै नायक-नायिकाहरुका फिल्म रिलिज भएका थिए तर उनीहरुलाई २०७३ खासै फलिफाप देखिएन । २०७३ मा न राजेश हमाल चले नत रेखा थापा र निखिल उप्रेती नै । 
 
गएको बर्षको भदौमा रिलिज भएको थियो राजेश हमाल अभिनित 'शकुन्तला' । पहिलो पटक महिला अवतारमा देखिएका हमाललाई ठूलै आश थियो 'शकुन्तला' ले राम्रै विजनेश गर्ला भन्ने तर त्यसको उल्टो रिजल्ट आयो । फिल्म रिलिज बेला प्रमोशनमा दौडन कहिले पनि तमतयार नहुने हमालको साथ 'शकुन्तला' ले पनि पाएन । यतिसम्मकी उनी फिल्मको रिलिजको समयमा अमेरिका उडे र 'शकुन्तला' रिलिजपछि नेपाल फर्किए । 
 
प्रमोशनमा प्रयाप्त समय नदिएका कारण पनि त्यसको असर फिल्मको विजनेशमा राम्रै पर्यो । हमाल पब्लिसिटीमा नदौडिएपनि बजारमा भने फिल्मको चर्चा खुबै थियो तर 'शकुन्तला' एक हप्ता पनि हलमा टिक्न सकेन । यसले राजेश हमालको निधाउन लागेको करिअर व्यूँजाएन । 'शकुन्तला' पछि उनका अन्य फिल्म रिलिज भएका छैनन् । लगातार आफु अभिनित फिल्महरुले कमजोर व्यापार गर्न थालेपछि अहिले हमाल विभिन्न जिल्ला र विदेशमा हुने स्टेज कार्यक्रमहरुमा नै व्यस्त छन् । खबरका अनुसार, उनी २०१७ भित्रै निर्देशकको रुपमा आउँदैछन् । 
 
 
त्यस्तै, नायिका रेखा थापाको कुरा गर्ने हो भने उनी प्रत्येक बर्ष हिट फिल्म पस्कन माहिर मानिन्छिन् । एक बर्षपछि एक फिल्म लिएर हल छिर्ने रेखाको २०७२ मा 'रामप्यारी' रिलिज भएको थियो । गएको बर्ष अर्थात २०७३ मा पनि उनको एउटै फिल्म रिलिज भयो 'पलाँस' । बर्षदिनमा आउँदा धमाकेदार ईन्ट्री मार्ने रेखालाई २०७३ खल्लो बन्यो, कारण 'पलाँस' हलमा फूल्न नपाई ओइलियो । रेखालाई राजनीतिक रुपमा २०७३ सुखद बनेपनि फिल्म यात्रा भने दुखद बन्दा विभिन्न खाले टिकाटिप्पणी पनि भए 'अब रेखाको क्रेज जीवित रहेन ।' अब उनी जेठ १ गतेबाट आफ्नो होम प्रोडक्सनको फिल्म 'रुद्रप्रिया' को तयारीमा छिन् । रेखाको यस बर्ष 'डायरी', 'हिरो रिर्टन्स', 'रुद्रप्रिया' रिलिज हुँदैछन्, अब यसले नै निधो गर्ने छ कि रेखाको क्रेज बाँकी नै छ वा साच्चै नै सकिएकै हो । 
 
एक्सन नायक निखिल उप्रेतीको कुरा गर्ने हो भने उनका लागि पनि २०७३ सबैभन्दा बढी खल्लो बन्यो किनकी उनको गएको बर्ष दुई फिल्म रिलिज भएका थिए र दुवै फिल्म घरेलू बजारमा नराम्रोसँग पछारिए । पुषमा हलमा लागेको 'किंग' र चैतमा रिलिज भएको 'निर्भय' फ्ल्पको सूचीमा उभिँदा निखिलको स्टारडम सकिएको बहस पनि खुबै चल्यो तर नयाँ बर्षको दिन रिलिज भएको 'राधे' ले भने यी सबै कुरालाई गलत सावित गरायो । नषँ बर्षमा रिलिज भएका अन्य दुई फिल्मभन्दा भन्दा 'राधे' मा हेर्न लागेको दर्शकको भिडले के स्पष्ट गर्यो भने निखिलको स्टारडम सकिएको छैन् । फिल्मले फस्ट विकेन्डमा करोड ग्रस गरेको थियो । 
 
लगातार स्टार भनिएका कलाकारहरुको नै स्टारडम खस्कदै गएको सबैमाझ स्पष्ट छ । कमजोर कथावस्तु चुन्नु नै स्टारडम कमजोर बन्नुको मुख्य कारण हो । त्यस्तै, लगातार एकपछि अर्को फिल्ममा झुल्किरहनुले पनि आफ्नो ब्रान्ड भ्यालु सखाप बनाउँदैछन् स्टारहरु । गुणस्तरीय भन्दा पनि संख्या बढाउन फिल्म गर्न मरिहत्ते गर्ने स्टारहरुलाई अहिले आफ्नै क्रेज जोगाउन नै हम्मेहम्मे परिरहेको छ ।