मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ करोडको फिल्म घोषणा, खगेन्द्र पुग्नेछन् हिँडेर अमेरिका

फिल्मीखबर, काठमाण्डौ, 2017/04/29
५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने गर्छन् । जंगल, समुद्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपाली जंगली जनावरको सिकार पनि हुन्छन् । कतिपय समुद्रमा डुंगा डुबेर गोही र सार्कको सिकार हुन्छन् । कतिपय अमेरिका आउनुअगाडि नै अन्य देशमा पक्राउ परेर उतैबाट फर्काइन्छन् । यति धेरै जोखिमबीच पनि मेक्सिको हुँदै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने क्रम घट्दो छैन, बरु बढ्दो छ । 
 
यही विषयवस्तुमा आधारित भएर ५ करोडको लागतमा नेपाली फिल्म निर्माण हुने भएको छ । 'पशुपति प्रसाद', 'लभ लभ लभ' निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने अनटाइटल प्रोजेक्टको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । 'लभ लभ लभ' फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे र निर्मात्री शर्मिला पाण्डेको लगानीमा बन्ने यो फिल्मको नाम चाँडै घोषणा गर्ने निर्देशक खनालले जानकारी दिए । 
 
फिल्मको लिड रोलमा लेखक तथा कलाकार खगेन्द्र लामिछाने मात्र फाइनल भएका छन् भने बाँकी अरु दुई मुख्य कलाकारहरु भने छनौट हुन बाँकी छ । फिल्मको छायांकन नेपाल हुँदै भएर इन्डिया, थाईल्यान्ड, ब्राजिल, कोलम्बिया, मेक्सिको हुँदै अमेरिकाको टेक्साससम्म हुने निर्देशक खनालले कार्यक्रममा बताए । सुरज सिने आट्स र दीपेन्द्र के. खनाल प्रोडक्शनबाट निर्माण हुने यो फिल्मको कथा निर्देशक खनाल आफैले तयार पारेका हुन् । 
 
 
फिल्मको विषयमा बोल्दै निर्देशक खनालले भने, 'अहिलेसम्म नदेखिएको पाटोलाई हामीले देखाउने प्रयास गरेका छौं । हिँडेर अमेरिका जाने तीन पात्रको संघर्षको कथा फिल्मले बोल्छ । फिल्म तयार गर्न निकै गाह्रो छ किनकी यी देशहरुमा पुग्न नै सबैभन्दा मुश्किल काम हो । तर हामीले आँटेका छौं, गर्नु पर्छ भनेर लागेका छौं । किनकी यो देशको पनि समस्या हो । यसले समाजमा एउटा सन्देश पनि जान्छ ।' 
 
फिल्म 'लभ लभ लभ' ले व्यवसायिक सफलता हासिल नगरेपनि दर्शक र समिक्षकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएका कारण दोस्रो फिल्म निर्माण गर्न लागेको निर्मात्री शर्मिला पाण्डेलले जानकारी दिइन् । उनले 'लभ लभ लभ' मा मुख्य भूमिकामा निर्वाहा गरेको आफ्नो छोरा सुरज पाण्डे यो फिल्ममा नहुने पनि बताइन् । उनका अनुसार, यो फिल्मपछि बन्ने तेस्रो प्रोजेक्टमा भने सुरज लिड रोलमा रहनेछन् । अनटाइटल यो फिल्ममा सुरज पाण्डे प्रोडक्म्सन हेडको रुपमा रहेका छन् । मंसीर १५ बाट फिल्मको सुट सुरु हुनेछ ।