यस बर्ष प्रतिक्षित मानिएका धेरै फिल्महरु रिलिजको तयारीमा छन् । अनमोल केसीको 'कृ' देखी बर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत' को सिक्वेलसम्म । यस कारण पनि यस बर्ष नेपाली फिल्म बजारमा पैसाको बर्षा हुनेमा दुई मत छैन् ।
यहि सेरोफेरोमा आज हामी कुरा गर्दैछौं फिल्म 'प्रेमगीत २' को । यो फिल्म बर्ष २०७२ मा रिलिज भएको 'प्रेमगीत' को सिक्वेल हो । गीत, संगीत र कथावस्तुसँगै कलाकारहरुको अभिनयले जीवन्त बनाएको 'प्रेमगीत' को चर्चा यति बेला पनि नेपाली बजारमा राम्रै हुने गर्छ । 'म त अलपत्र पर्छु' र 'म यस्तो गीत गाउँछु' बोलका दुई गीतले नै 'प्रेमगीत' लाई छुट्टै हाइप मिलेको थियो । त्यस्तै, यो फिल्मबाट खासै नाम नसुनेका दुई कलाकार नायक प्रदीप खड्का र नायिका पुजा शर्मा पनि स्टार बने । अब यसको सिक्वेल प्रदर्शनका लागि तयारी अवस्थामा छ ।
क्लाईमेक्स सिन बाहेक फिल्म 'प्रेमगीत २' को सबै छायांकन सकिसकेको छ । फिल्मका नायक प्रदीप खड्काको बर्थडेको अवसरमा केही हप्ता अगाडी निर्माण कम्पनी आशुसेन फिल्मसले साउन १३ गतेलाई 'प्रेमगीत २' को रिलिज डेट लक गरिसकेको छ । फिल्म 'प्रेमगीत २' मा नायक मात्र 'प्रेमगीत' का छन्, बाँकी नायिका र निर्देशक भने नयाँ छन् । यो फिल्ममा प्रदीपले नव-नायिका अश्लेषा ठकुरीसँग रोमान्स गरेका छन् भने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यसको पहिलो भागलाई सुदर्शन थापाले निर्देशन गरेका थिए । 'प्रेमगीत' बाट हिट भएको प्रदीप र पुजाको जोडीलाई दर्शकहरुले यसको सिक्वेलमा हेर्न नचाहेका होइनन् तर आन्तरिक कारणले यो फिल्ममा प्रदीप मात्र दोहोरिए र नायिकामा अश्लेषालाई ल्याइयो ।
पुरानै कलाकार 'प्रेमगीत २' मा भएको भए फिल्मको पव्लिसिटीमा निर्माणपक्ष खासै दौडिनु पर्ने थिएन् तर नायक मात्र पुराना र नायिका नयाँ भएका कारण निर्माणपक्षले अहिलेदेखी नै फिल्मको प्रचार प्रसारलाई आक्रामक बनाउँदै गएको छ । हुनत, नायक प्रदीप खड्काको यूवापुस्ताका दर्शकहरुमा लोभलाग्दो क्रेज छ तर नायिका अश्लेषा नयाँ अनुहार भएका कारण निर्माण कम्पनीले पव्लिसिटीमा केही दुख भने गर्नु पर्ने देखिन्छ । यो फिल्मको एक गीत नयाँ बर्षको उपलक्ष्यमा रिलिज भैसकेको छ । 'कहानी यो प्रेम गीतको' बोलको गीत अहिलेसम्म युटुबमा १३ लाख बढीले हेरिसकेका छन् । यो गीतले पनि 'प्रेमगीत २' हेर्न हलमा दर्शकको भिड लगाउनेमा सायद शंका नउब्जिएला ।
तर, 'प्रेमगीत २' लाई सिंगल हलमा भने दर्शक तान्न मुश्किल पर्ने भएको छ किनकी यो मितिमा निखिल उप्रेती र सौगात मल्ल स्टारर मूभी 'संरक्षण' रिलिज हुँदैछ । सौगातको मल्टिप्लेक्समा राम्रो पडक छ भने निखिल सिंगल हलका बादशाह नै भए । यसकारण पनि साउन १३ गते 'प्रेमगीत २' र 'संरक्षण' को भिडन्त रोमाञ्चक हुने पक्का छ । अब दर्शक चाहिँ कसले आफ्नो पक्षमा बढी तान्ने हुन् त्यसको रिजल्ट कुर्न भने साउन १३ गतेसम्म पर्खनै पर्ला ।
'प्रेमगीत' बाट जसरी पुजा र प्रदीपको जोडी हिट भयो त्यसरी नै 'प्रेमगीत २' बाट प्रदीप र अश्लेषाको जोडी हिट बन्ला ? अहिले यस्ता खाल्का प्रश्नहरु पनि राम्रै जन्मिरहेका छन् । अब यो त 'प्रेमगीत २' रिलिज भएपछि मात्र थाहा हुने कुरा भयो तर फिल्मको नाम नै ब्राण्ड भइसकेका कारण 'प्रेमगीत २' ले केही दिन नामले नै हल कब्जा गर्नेमा शंका छैन । यो फिल्मलाई 'प्रेमगीत' का निर्माता सन्तोष सेनले निर्माण गरेका हुन् ।