नेपाली चलचित्रकी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको झण्डै एक बर्ष बढी भैसकेको छ । 'झोला' बाहेकका अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् ।
एक्कासी बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको खबर बाहिरिँदा उनका प्रशंसकहरु एकपटक त दंगै परेका थिए तर फिल्म करिअर ओरालो लाग्न थालेपछि सायद गरिमाले यसको विकल्प भेटिइनन् । विवाहपछि उनी नेपाल फर्किएकी थिइनन् तर उनी अभिनित चलचित्र 'तीन घुम्ती' भने गएको बर्ष रिलिज भएको थियो । 'तीन घुम्ती' ले घरेलू बजारबाट राम्रै पैसा छापेको भए सायद उनको माग पुनः बढ्थ्यो होला नेपाली फिल्ममा तर त्यो हुन पाएन ।
कृष्ण धारावासीको चर्चित पुस्तक 'झोला' माथी आधारित भएर निर्माण भएको फिल्म 'झोला' बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमा अब पुनः फिल्ममा फर्किने संभावना निकै न्यून रहेको स्रोत बताउँछ । अब उनी सम्पूर्ण समय परिवारलाई दिने तयारीमा छिन् । हरि शर्मासँग विवाह गरेको केही महिनामा नै पतिदेवसँग मिलेर उनले बेल्जियममा 'गरी सुमी' नामको एक रेस्टुराँ समेत खोलेकी छिन् । आफ्ना प्रशंसकहरुलाई विवाह गरेको जानकारी दिँदै गर्दा उनले आफु अध्ययन गरेको विद्यालयको सहयोगका लागि अक्षयकोषको समेत घोषणा गरेकी थिइन् ।
'सुन्दर मेरो नाम', 'पराई', 'सासु नन्द भाउजु', 'मनले मनलाई छुन्छ', 'ठूली', 'सासु ससुरा', 'फूल', 'प्रितिको फूल', 'भैहाल्छ नी', 'जीवन मृत्यु' लगायतका दुई दर्जन फिल्ममा काम गरिसकेकी गरिमाले फिल्म 'झोला' रिलिजपछि आफ्नो पारिश्रमिक चर्को बनाएको खबर पनि बाहिर आएको थियो ।
बल्जियममा आफ्नो व्यावसाय र घरगृहस्थी जीवन विताइरहेकी गरिमा अहिले भने नेपालमा छिन् । उनी गएको चैतको अन्तिम साता बेल्जियमबाट नेपाल आएकी हुन् । नेपाल आएसँगै उनका प्रशंसकहरुलाई यो आश थियो कि अब उनी फेरी फिल्म अभिनयमा फर्किनेछिन् तर उनको इन्स्टाग्राम एकाउन्टमा शेयर भएका तश्वीरहरुबाट के स्पष्ट हुन्छ भने अहिले उनी पतिदेवसँग नेपाल घुमघाममा व्यस्त छिन् ।
उनले चन्द्रागिरी हिल्स लगायतका ठाउँहरु घुमेका तश्वीरहरु आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् । अब उनका डाईहार्ट फ्यानहरुलाई यसको प्रतिक्षा हुन सक्छ, 'के गरिमा फिल्ममा फर्केलिन् ?' यो त अब भोलीका दिनले नै देखाउँला ।