मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माझी बस्ती निर्माणमा सहयोग गर्नेलाई स्वेताको सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2017/04/21
नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोकको माझी बस्ती निर्माणमा सहयोगी हात फैलाउने ६ जनालाई नायिका स्वेता खड्काले सम्मान गरेकी छिन् । शुक्रवार 'स्वेता श्री फाउन्डेशन' को कार्यालय पुतलीसडकमा एक कार्यक्रमका बीच स्वेताले आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरेकी हुन् । 
 
अमेरिकाबाट तीन लाख रुपैयाँ सहयोग गर्ने श्री पराजुली, एक लाख रुपैयाँ सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, पचास हजार सहयोग गर्ने सामाखुसीकी शान्ता बस्नेत, जापानमा रहेर पचास हजार सहयोग गर्ने आरोही सुवेदी, हाल कोरिया बस्ने काठमाण्डौं अनामनगरका पच्चीस हजार एक सय सहयोग गर्ने ब्रजेश श्रेष्ठ र 'स्वेता श्री फाउन्डेशन' को कार्यालयका लागि एक थान कम्प्युटर सहयोग गर्ने आइटी केयर सोलुसनलाई स्वेताले सम्मान गरिन् । 
 
 
अबको दुईसाता भित्र माझी बस्ती शिलान्यास हुने जानकारी दिँदै स्वेताले फाउन्डेशनलाई बस्ती निर्माणका लागि प्राप्त हुने रकम पारदर्शी होस् भनेर सहयोगीलाई सम्मान गरेको बताइन् । उनले भनिन्, ‘सहयोग गर्नेलाई पनि केही प्रमाण होस् भनेर हामीले सम्मान पत्र दिएका हौं । हामीलाई सहयोग गर्ने हरेकलाई हामी सम्मान गर्छौं । जसले प्राप्त सहयोगको पारदर्शीता पनि देखाउँछ ।’ 
 
माझी बस्तीमा रहेका ६३ घर धुरी सहित बाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको स्वेताले बताइन् । सरकारले अनुदान दिने तीन लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट जुटाउने स्वेताले लक्ष्य राखेकी छिन् । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनलाई बस्ती निर्माणमा सहयोग गर्न पनि आग्रह गरिन् । 
 
स्वर्गीय नायक तथा श्रीमान श्रीकृष्ण श्रेष्ठसँग 'कोहिनूर' मा काम गरेपछि अन्य फिल्ममा नदेखिएकी स्वेता चाँडै नयाँ फिल्म 'कान्छी' मार्फत कमब्याक गर्ने तयारीमा समेत छिन् ।