विमान चालक विजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र उर्जामन्त्री नायक राजेश हमाल बने भन्ने सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर अचम्ममा नपर्नुहोस्, हामी रिल लाइफको कुरा गर्दैछौं ।
काठमाडौं लगायतका विभिन्न जिल्लाहरुलाई लोडसेडिङ मुक्त गराउने विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिमिङ र उर्जामन्त्री जर्नादन शर्माले लोडसेडिङ अन्त्यका लागि गरेको प्रयासमाथी आधारित भएर फिल्म 'उज्यालो नेपाल' बनेको छ, जुन तपाईहरुले युट्युबमा पनि हेर्न सक्नुहुन्छ ।
लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धिलाई समेटेर निर्माण भएको यो फिल्ममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन भने सरोज ओलीले गरेका हुन् ।
फिल्ममा विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने उर्जा मन्त्री जर्नादन शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई देखाइएको छ । राजेश हमाल फिल्म ‘उज्यालो नेपाल’ उर्जामन्त्रीको भूमिकामा देखिएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन्।