एक्सन नायकको छवि बनाएका निखिल उप्रेती नेपाली चलचित्रबाट ५ बर्ष हराउँदा उनको विकल्पमा धेरै अनुहारहरु खोजिए तर निखिलको चर्को मागको अगाडी ति अनुहारहरु फिक्का भए ।
नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि ५ बर्षसम्म कुनै पनि नेपाली फिल्ममा निखिलको अनुहार नदेखिँदा निराश हुने दर्शकहरु कम्ता थिएनन्, त्यसैले त उनको ५ बर्षे कमब्याक फिल्म 'भैरव' ले राम्रै बजार पिट्यो ।
'भैरव' ले यो प्रमाणित गरेको थियो कि निखिल सिंगल हलका बादशाह नै हुन् । त्यसपछि निखिलको व्यस्तता पहिला जस्तो थियो त्यसमा कमी आएन् । उनले एकपछि अर्को फिल्ममा काम गर्दै गए । 'भैरव' पछि हलमा लाग्यो 'लुटेरा' । तर, 'लुटेरा' ले निर्माता खुशी बनाउन सकेन । 'लुटेरा' रिलिजको एक बर्षपछि हलमा लागेको थियो 'किंग' ।
बर्ष २०७३ को पुषमा रिलिज भएको 'किंग' पनि निखिलको सफलतामा बाधक बन्यो । 'किंग' बाट दर्शकहरुले जुन अनुसारको अपेक्षा गरेका थिए त्यो पूरा गर्न सकेन र घरेलू बजारमा नराम्रोसँग पछारियो । 'किंग' रिलिजपछि २०७३ को चैतमा हलमा लागेको अर्को फिल्म थियो 'निर्भय' । यो फिल्मले दर्शकहरुबाट औसत प्रतिक्रिया बटुलेपनि सिनेमा हलमा दर्शक हुलेर बोरामा पैसा खाद्न भने पूर्णरुपमा असफल सावित भयो ।
२०७३ मात्र दुई फिल्म असफल हुँदा निखिललाई एउटा आरोप पनि खुबै लाग्यो अब निखिलको क्रेज जीवित रहेन । तर, नयाँ बर्षको दिन रिलिज भएको फिल्म 'राधे' ले पुनः यो सावित गरेको छ कि निखिलको स्टारडम खस्किएको छैन । किनकी प्रदर्शनको दिनदेखी हलमा लागेको दर्शकहरुको भिडले के देखाउछ भने निखिलको क्रेज जीवित नै छ ।
'राधे' ले हालसम्ममा डेढ करोड ग्रस विजनेश गरिसकेको छ भने दोस्रो हप्ता अर्थात आजबाट नाफाको बाटोमा हिँड्नेछ । 'राधे' ले निखिलको क्रेज जीवित नै रहेको पुष्टि गरेपनि भोलीका दिनमा अन्य फिल्मले उनको क्रेज चम्काउने हो वा थन्काउने हो त्यसको नतिजा भने दर्शकहरुले हेर्दै जानेछन् ।
पहिलो पटक एकसाथ ठूलो पर्दामा रोमान्स गरेका निखिल र प्रियंका कार्कीको जोडीलाई पनि दर्शकहरुले खुबै रुचाएका छन् । फिल्म 'राधे' मा निखिल र प्रियंकाको अलवा सलोन बस्नेत, अशिष्मा नकर्मी, शिशिर भण्डारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मलाई शुशिल पोख्रेलले निर्माण गरेका हुन भने जगदीश्वर थापाले निर्देशन गरेका हुन ।