फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी फिल्म 'पलाँस' सोलो रिलिज भएको छ । कृषा चौलागाईंको निर्माण तथा सुवास कोईरालाको निर्देशन रहेको फिल्म देशभरका ७० बराबर हलमा एकसाथ रिलिज भएको निर्माण टिमले बताएको छ ।

गोविन्द शाहीको वितरण रहेको फिल्म काठमाडौंका मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबैतिर छ । फिल्ममा रेखा थापा, कामेश्वर चौरासिया, अयुव केसी, कमल देवकोटा, प्रकाश घिमिरे लगायत लिड अभिनयमा छन् ।

यसैबीच रिलिजको पुर्वसन्ध्यामा बिहिबार साँझ 'पलाँस' प्रिमियर गरिएको छ । राजधानीमा आयोजित प्रिमियर समारोहमा निर्माण टिम निकटस्थ केहि फिल्मकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो । निर्देशक कोईराला बाहेकको निर्माण टिम तथा कलाकारहरु समेत देखिए ।
फिल्म हेरिसकेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । पहिलो हाफमा दर्शकलाई राम्रो होल्ड गर्ने देखिएको फिल्म दोश्रो हाफमा केहि कमजोर देखिएको धेरैको तर्क थियो । समग्रमा फिल्मले उठाएको विषयवस्तुलाई फिल्मकर्मी तथा सञ्चारकर्मीले तारिफ गरे ।
त्यस्तै अभिनेता कामेश्वर चौरासिया र अर्का अभिनेता कमल देवकोटाको कामले उल्लेख्य चर्चा पायो ।

