मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्कर विजेता 'मुनलाईट'सहित तीन फिल्मको नेपाल रिलिज तय

फिल्मीखबर, काठमाडौं, 2017/03/23

एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म दर्शकले सिनेमा हेर्न सक्नेछन् ।

 


नेपालस्थित विदेशी फिल्म वितरण कम्पनीले यसपटकको अस्करमा उत्कृष्ट सिनेमा घोषित मुनलाइट, निर्देशनसहितका महत्वपूर्ण प्राविधिक विधामा उत्कृष्ट लाला ल्यान्ड र मनोनित फिल्म डीप वाटर होराइजन प्रदर्शन गर्न लागेको हो ।

क्यूएफएक्ससहित देशभरका सबै मल्टिप्लेक्समा सिनेमा रिलिज हुने एप्पल प्रमुख जेनिस पहारीले बताइन् । ‘ढिलै भएपनि नेपाली दर्शकलाई ठूलो पर्दामा अस्करको मजा चखाउने जमर्को गरेका हौं’ उनले भनिन्, ‘खासगरि, गम्भिर दर्शकले यी फिल्म रुचाउन सक्नुहुनेछ ।’

गत महिना बाँडिएको अस्कर अवार्डमा अमेरिकी अफ्रिकन युवकको कथा प्रस्तुत गर्ने सिनेमा मुनलाइट सर्वोत्कृष्ट भएको थियो । क्रिटिक्सहितका ठूला अवार्ड जितेको म्युजिकल ड्रामा लाला ल्यान्डले उत्कृष्ट निर्देशन, अभिनेत्री, छायांकन र ध्वनीका विधामा जित्यो ।

पिटर वर्ग निर्देशित डिजास्टर जानराको बायोपिक सिनेमा डीप वाटर होराइजन ध्वनी सम्पादन र भिजुअल इफेक्ट विधामा मनोनित भएपनि अवार्ड जितेन ।

एप्पलले मार्च ३१ मा प्रतीक्षित एनिमेटेड सिनेमा बोस बेबी रिलिज गर्दैछ । यस अवसरमा एप्पलले लाबिम मलमा रेडकार्पेट विशेष सोजको समेत आयोजना गर्नेछ । ‘हामी अब फिल्म प्रदर्शन मात्र नभएर, सिनेमा सम्बन्धी गतिविधिमा समेत सक्रिय हुनेछौं’ पहारीले भनिन् ।

एप्पल नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको मातृ संस्था क्वेस्ट इन्टरटेनमेन्टको फिल्म वितरण विभाग हो । दशकदेखि सक्रिय एप्पलले पछिल्लो समय आफूलाई हलिउड फिल्म वितरणमा केन्द्रित गरिरहेको छ ।