हरेक हप्ता दुई तीन फिल्म रिलिजको घम्साघम्सी हुँदै आएको नेपाली फिल्म उद्योगमा गत शुक्रबार एक मात्र फिल्म रिलिज भयो । अरुणकुमार प्रधान निर्देशित फिल्म 'यो साईनो मायाको' एकल रिलिज हुँदा सोलो रिलिजको फाईदा मिल्यो त ?
हल सञ्चालकहरुबाट प्राप्त तथ्याङ्कलाई आधार मान्ने हो भने रिलिजको दिन फिल्मले कमाल गर्न सकेन् । दर्शकको साथ औसत थियो । तर निर्माण टिम भने पहिलो दिनमा दर्शकले दिएको साथलाई सन्तोषजनक भनेको छ ।
यस्तै शनिबार भने निर्माण टिमले आफुहरुले सोचेभन्दा राम्रो दर्शकको साथ र प्रतिक्रिया हलमा पाएको दाबी गरेको छ । शनिबारको दिवा शो मा राजधानीको गोपिकृष्ण हलको एक पर्दा अनि अष्टनारायण हलको एक पर्दा हाउसफुल समेत भएको जानकारीमा छ ।
फिल्मका लिड अभिनेता जतिन ताम्राकारले हर्षित मुद्रामा भने, 'जति दर्शकले हेर्नुभयो, सबैले राम्रो भन्दिनुभएको छ, साथ र सहयोगी मनहरुप्रति आभारी छु, नहेरेका दर्शकलाऐ हलसम्म आएर एक पटक फिल्म हेर्दै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।'
जतिनले माया प्रेममा परेका अनि प्रेमको भाव बुझ्ने जो कोहिको लागी पनि मनोरञ्जनको उपयुक्त विकल्प 'यो साईनो मायाको' रहेको भन्दै पैसा तिरेर दुई घण्टा समय हलमा बिताउँदा समय र पैसा दुबैको बचतको अनुभुती हुने तर्क गर्छन् ।
सुनिल मानन्धरले वितरणको जिम्मा लिएको फिल्म देशभरका ४० बराबर हलमा एकसाथ प्रदर्शनमा आएको हो । पुर्वी नेपालमा भने आईतबारबाट मात्र केहि हलमा लागेको छ भने सोमबारबाट धरानको गणेश टाकिज र दमकको पाथिभरा हलमा फिल्म लाग्दै गरेको पुर्वी नेपालकै विराटनगर रहेका निर्माता रामकुमार श्रेष्ठले जानकारी दिए ।