सिनेमाटोग्राफर निरज कंडेल सवारी दुर्घटनामा परेका छन् । मोटरसाइकल दुर्घटनामा परेका उनको हात भाँचिएको छ । कंडेलका निकटतम मानिने निर्देशक दिपेन्द्र के खनालले निेरजको दाहिने हातमा गम्भिर चोट लागेको भन्दै चिकित्सकले कम्तिमा सात महिना आराम गर्नुपर्ने बताएको जानकारी दिए ।
अस्पतालमा कंडेलको स्वास्थ्य अवस्था बुझ्दै चलचित्र प्राविधिक संघ अध्यक्ष पुस्कर लामा
खनालको पछिल्लो फिल्म 'पशुपति प्रसाद' खिचेका निरजले भोलीबाट सुटिङको लागी 'तराइ मुभ' हुँदै गरेको सोहि टिमको फिल्म 'धनपती' छायाँकनको तयारीमा थिए । अब सिनेमाटोग्राफर नै दुर्घटनामा परेपछि निर्देशक खनाल नै फिल्म खिच्न अघि सरेका छन् ।
'एउटा राम्रो सिनेमाटोग्राफर राम्रो निर्देशक हुनसक्छ, राम्रो निर्देशकले क्यामेराको ज्ञान पनि जान्न आवश्यक मानिन्छ', यो कुराबाट खनाल सचेत छन् । त्यसैले त 'धनपती' खिच्दै गरेको रेड इपिक क्यामेरा अब आफैले चलाउने उनले फिल्मीखबरसँग बताए ।
'निरज दुर्घटनामा परेपछि अन्य केहि सिनेमाटोग्राफरसँग कुरा गर्दा कसैको पनि समय नमिलेको पाएँ, फ्लोरमा जान हामी तयार छौं, रोक्न मिल्ने पनि छैन्', खनालले भने, 'अब आफै खिच्ने निर्णयमा पुगें, यो निर्णय खगेन्द्रजी (निर्माता तथा लिड अभिनेता खगेन्द्र लामिछाने) र म दुबैको हो ।'
फिल्ममा खगेन्द्रसँगै सुरक्षा पन्त लिड अभिनयमा हुनेछिन् । रोजिना सिटौला कार्यकारी निर्मातामा छिन् । 'धनपति'को अर्को बर्ष अर्थात २०७४ को असार २३ लाइ विश्वव्यापी प्रदर्शनको मिति घोषणा गरिसकिएको छ ।
कंडेल दुर्घटनापछि अस्पताल भर्ना हुँदा उनलाइ भेट्न दिनहुँ जसो फिल्मकर्मी हरु पुग्ने गरेका छन् । चलचित्र प्राविधिक संघ अध्यक्ष पुस्कर लामाले घटनाप्रति दु:ख व्यक्त गर्दै कंडेलको सिघ्र स्वास्थ्य लाभको कामना गरे । उनले दुर्घटना भएकै दिन अस्पताल पुगेर कंडेलको स्वास्थ्य अवस्था बुझेका थिए ।