काममा विश्वास, इमान्दारिता अनि लगाव, यी मुख्य कुरा कोहिसँग छ भने त्यो व्याक्तिले धेरैको साथ पाउँछ, समर्थन पाउँछ अनि आड पाउँछ । अभिनेता, खलनायक ज्याक श्रेष्ठ यस्तै नाम हो, जो एक्सन स्टार निखिल उप्रेतीसँग पछिल्लो समय सँगसँगै छन् ।
२०६२ सालमा बनेको 'त्रिदेव' फिल्मबाट अभिनय यात्रा सुरु गरेका विराटनगरका ज्याक उर्फ राजु श्रेष्ठ वालापनमा सेना बन्ने इच्छा राख्थे । बुबा प्रहरी भएकै कारण पनि राष्ट्रसेवामा इच्छा राख्ने उनको रुची नृत्य अनि अभिनयमा पनि थियो ।
फलत: उनको सेना बन्ने सपनालाइ अभिनयले उछिन्यो । तर दर्जनबढि फिल्ममा काम गरेका उनले रियलमा नभएपनि भुमिका भने सेना र प्रहरीकै निभाए । पछिल्लो एक बर्षको बीचमा उनले निखिलसँग मात्रै चार फिल्ममा काम गरेका छन् त्यो पनि सबैजसोमा प्रहरीको भुमिकामा ।
गत बर्ष छायाँकन भइ आउँदो चैत्र ११ मा प्रदर्शन हुन लागेको निर्भयबाट निखिलसँग जोडिएका उनी त्यसयता राधे र रुद्रमा पनि सँगसँगै काम गरे भने फ्लोरमा रहेको 'पिंजडा ब्याक अगेन'मा पनि एकसाथ स्कृन सेयर गर्दैछन् ।

के कारण निखिलबाट छुट्दैन् तपाईं ?, यो प्रश्नमा उनले प्रतिप्रश्न सहितको जवाफ फर्काए, 'काममा डेडिकेटेड छु, इमान्दार छु जिम्मा दिएको जुनसुकै पात्रलाइ पनि न्याय गर्छु झैं लाग्छ, यसैका कारण उहाँ सँगसँगै छु कि ?'

सुन व्यापारी बनेका ज्याकको फिल्म 'पशुपतिप्रसाद' भित्रको एक दृश्य
अभिनयसँगै छापाखाना तथा रेष्टुरेण्ट व्यवसायमा समेत संलग्न ज्याक निर्देशक दिपेन्द्र के खनालको फिल्ममा पनि प्राय छुट्दैनन् । पछिल्लो पटक २०७२ को हिट 'पशुपतिप्रसाद'मा सुन व्यापारी बनेर देखिएका उनी त्यसपछि खनालको फिल्म 'लभ लभ लभ' मा पनि छुटेनन् भने फ्लोरमा जाँदै गरेको 'धनपति'मा पनि उनि अनुबन्ध भइसकेका छन् ।
छोटो, मिठो र राम्रो भुमिका खेल्नु उनि मुख्य भूमिका नै जोडिनुपर्छ भन्ने अनि धेरै फिल्म खेल्नुलाइ महानता बोल्दैनन् । 'फिट हुने, समभावित हिट हुने अनि दर्शकले नोटिस गर्ने प्रकारको भूमिका नै आफ्नो खास प्राथमिकता रहने उनको बुझाइ छ ।

