एक्सन स्टार निखिल उप्रेतीले नेपाली रजतपटमा डेब्यू गरेको फिल्म 'पिँजडा'को नाम सापटी लिँदै नयाँ फिल्म 'पिँजडा ब्याक अगेन' घोषणा भएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका बीच हिमाल केसीको निर्देशनमा बन्ने गरी फिल्मको घोषणा भयो ।

एक दशक पहिले निखिलले 'पिँजडा'बाट फिल्म अभिनयमा डेब्यू गरेका थिए । उक्त फिल्मबाट नै मुख्यत: नेपाली फिल्म उद्योगमा 'एक्सन स्टन्ड'को सुरुवात भएको मानिन्छ । जुन फिल्ममा निखिलले सात तलाबाट हाम फालेको अनि उनले प्रस्तुत गरेका रियल स्टण्ड अहिलेसम्म पनि धेरै दर्शक अनि फिल्म सुभचिन्तकहरुको मानसपटलमा जिवितै छ ।

'पिँजडा ब्याक अगेन' पनि पुर्णत: एक्शन प्रधान हुने निर्देशक केसीले बताए । फिल्ममा पारिवारिक प्रेम जोडिनेछ, दर्शकलाइ परिवारसँगै बसेर हेर्न मिल्ने फिल्म बनाउनु नै हाम्रो उद्देश्य हो लेखक मौनता श्रेष्ठसँगै निर्देशक केसीले एक स्वरमा भने ।
फिल्ममा निखिलसँगै सारा सिर्पाली लिड अभिनयमा हुनेछन् । निखिल उप्रेतीकै प्रोडक्सनमा बनेको पछिल्लो फिल्म 'रुद्र'बाट साराले रजतपटमा डेब्यू गरेकी थिइन् । यस्तै यो फिल्ममा सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराइ, आरके मानन्धर, भास्कर ओली, अनुराग शाह, विवेक सिंह, गोकुल, चन्द्र अधिकारी, तारा रञ्जित थापा, कुसाग्र भट्टराइ, आशा गौतम, किरण उप्रेती, राजबाबु श्रेष्ठ, ज्याक श्रेष्ठ लगायतको अभिनय रहनेछ ।
रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहनेछ । सौरभ लामाले खिच्ने फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन भने रोहित पुरी, गोविन्द गैरे, चन्द्र अधिकारी निर्मातामा छन् । कार्यकारी निर्माता भने सुशान्त श्रेष्ठ हुन् । फिल्मलाइ अर्को बर्षको दशैंमा रिलिज गर्ने समेत घोषणा गरिसकिएको छ ।

