भारतसँगै विश्वभरमा ताबडतोड कमाई गरिरहेको फिल्म ‘दंगल’बाट आमिर खानले मात्र २ सय ४० करोड हात पार्ने भएका छन् । फिल्मले भारतमा मात्र यो हप्तासम्म ३ सय ९० करोड नेट कमाइ गरेको छ ।
आमिर खान र बाँकी निर्माताबीचको समझदारी अनुसार फिल्मको कुल मुनाफाबाट निर्माताको भागमा परेको सय प्रतिशतबाट ८० आमिरले र बाँकी निर्माताले २० प्रतिशत पाउनेछन् ।
यसरी कुल कमाई भाग लगाउँदा अन्य निर्माताको भागमा १ सय ९५ करोड हात पर्न आउँछ । अब आमिरले यसको ८० प्रतिशत पाउँदा १ सय ५६ करोड हुन आउँछ ।
फिल्मले रिलिजअघि नै स्याटालाइटस् तथा म्युजिकको अधिकारबाट १ सय ५ करोड हात पारिसकेको थियो । यता फिल्मको रिलिज प्रचारसहित ७० करोडमा सम्पन्न भएको हो ।
अब आमिरले स्याटालाइटस्को अधिकार वापत् आएको पैसाबाट पनि ८० प्रतिशत पाउँदा सो रकम ८४ करोड हुन आउँछ ।
यसरी आमिरले ‘दंगल’बाट मात्रै कुल २ सय ४० करोड कमाई गरेका छन् । विदेशको समेत कमाई जोड्दा फिल्मले ७ सय करोड कमाई गरेको छ । यो कुनै पनि भारतीय सिनेमाले गरेको कमाईमा रेकर्ड हो ।

