Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अवार्डमा मनपरी

फिल्मीखबर, काठमाडौं, 2016/12/25

अघिल्ला संस्करण झैं नेफ्टाको नवौं संस्करण पनि विवादमुक्त हुन सकेन । सामान्य विवाद अवार्डमा स्वीकारिएको सत्य हो तर दुबईमा बाँडिएका धेरै विधाका अवार्डमा जुरीको खेलाँची प्रष्ट देखिन्छ । फलत ः अवार्ड पाउने व्यक्तिले नै अवार्ड बहिष्कार गर्नुले निर्णयमा कतिसम्म मनपरी भयो भन्ने अनुमान लगाउन सकिन्छ ।



उत्कृष्ट फिल्म छानिएको ‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के खनाल अवार्ड कार्यक्रममा उपस्थित हुँदा हुँदै पनि अवार्ड लिन गएनन् । कारण थियो उत्कृष्ट फिल्म बनाउने निर्देशकलाई भने निर्देशकको अवार्ड नदिनू । जुरीले ‘पशुपतिप्रसाद’लाई उत्कृष्ट फिल्मको अवार्ड  त दिए तर उत्कृष्ट निर्देशकको अवार्ड भने ‘वडा नं ६’ का निर्देशक उज्जल घिमिरेलाई ।


फिल्म चैं उत्कृष्ट हुने तर निर्देशक चैं अनुत्कृष्ट संसारका निस्पक्ष अवार्डमा विरलै हुन्छ । तर यो पटकका नेफ्टा जुरीले  संसारमै नभएको जात्रा दुबई अवार्डमा देखाइदिए ।
उत्कृष्ट फिल्मले कम्तीमा प्राविधिक, पटकथा र अभिनय आदि तर्फ तीन या चार विधामा अवार्ड जित्नु पर्ने मान्यता रहँदै आएको छ । नेफ्टाकै विगत हेर्ने हो भनेपनि अपवादबाहेक यसको पालना हुँदै आएको छ । तर यो पालीका जुरी तथा आयोजकले यस्ता मान्यताको धज्जी उडाउन कुनै कसर बाँकी राखेका छैनन् । मनोनयन सार्वजनिक हुँदा नै  जुरीले अनौठा मनोनयन राखेर धेरैलाई आश्चर्यचकित तुल्याएका थिए ।  


सम्पादनमा ‘क्लासिक’बाट दाबेदार मानिएका सुरेन्द्र पौडेललाई सो फिल्मबाट मनोनयनमा नपारेर ‘प्रेमगीत’बाट मनोनयनमा पारिएको थियो भने छायांकनतर्फ वर्षभरी आयोजना भएका हरेक अवार्ड जित्दै आएको ‘ड्रिम्स’को छायांकन मनोनयनमा नै अटाएको थिएन । त्यस्तै मुख्य विधामा मनोनयनमा नपरेको ‘प्रेमगीत’ र ‘क्लासिक’लाई पनि उत्कृष्ट फिल्मका ५ भित्र पारिएको थियो । शुक्रबार बाँडिएको अवार्डमा पनि जुरीले सोही धर्मलाई निरन्तरता दिए ।

 

पटकथाकै कारण बक्स अफिसमा मार खाएको सुवर्ण थापा लिखित ‘फन्को’ले उत्कृष्ट पटकथाको अवार्ड पायो भने ‘कबड्डी’ को सिक्वेल रहेको ‘कबड्डी कबड्डी’को कथा उत्कृष्ट ठहरियो ।  कसैको नजरमा नपरेको सामाजिक कथालाई पर्दामा उतार्ने हिम्मत गरेको दीपेन्द्र के खनालको ‘पशुपतिप्रसाद’को कथाभन्दा  ‘कबड्डी कबड्डी’को कथालाई जुरीको कुन विवेकले उत्कृष्ट ठह¥यायो, यसको उत्तर सायदै जुरीसँग होला । बरु ‘कबड्डी कबड्डी’ को संवाद ‘पशुपतिप्रसाद’ का भन्दा उत्कृष्ट थिए । तर जुरीले ठ्याक्कै उल्टयाइ दिए  ।  



अवार्डमा मनपरी गर्ने नेफ्टा पहिलो भने होइन । तर निरन्तरताका कारण अरु अवार्डभन्दा यसलाई फिल्मकर्मीले भाउ दिने गरेका छन् । तर प्रश्न उठ्छ साँच्चिकै राम्रो काम गरेकालाई अवार्ड नदिने अनि आयोजकको चाकडी गर्ने र जुरीका ‘हाम्रा’लाई मात्र अवार्ड दिँदा यो अवार्ड कतिन्जेल टिकिरहला ? अवार्डको निर्णयप्रतिको विरोधलाई हरेक अवार्ड आयोजकले कुनै न कुनै बहानामा पन्छाउने गरेका छन् । तर यसअघिका अवार्ड आयोजकले निर्णयप्रतिको टिप्पणीलाई गम्भीरतापूर्वक नलिँदा नै आजभोलि हुने अवार्डमा  साँझ छिप्पिएसँगै खाली हलमा कार्यक्रम गरिरहनु परेको बाध्यता छ । त्यसैले अवार्ड आयोजकले आजको मात्र होइन भोलिको पनि सोचेर अवार्ड गर्नु समग्र फिल्म क्षेत्रको हितमा हुनेछ । अनि कुनै पनि अवार्डको गरिमा त्यतिबेला रहन्छ जब पाउनेका लागि पनि त्यो दुर्लभ भएको अनुभव होस् । प्रभावमा पाएको अवार्डले कोठा त सजिएला तर त्यसले सच्चा सर्जकको आत्मसम्मान सजिन्न ।





 
 

Most Visited News (monthly)