
बर्ष २०७२ को सफल फिल्म 'प्रेमगीत २ ' सोमबारबाट फ्लोरमा गएको छ । आस्थाको धरोहर मानिने गणेश मन्दिरमा सबेरै पुजाआजा गर्दै फिल्मको मुहर्त गरियो भने अपराह्नबाट फिल्मको छायाँकन पनि सुरु भयो ।
अर्को बर्षको भदौ महिनालाई रिलिज तय गरेर आशुसेन फिल्मस्'ले आफ्नो तेश्रो प्रोजेक्टलाई फ्लोरमा लगेको हो । यो व्यानरमा यसअघि 'चंखे शंखे पंखे' र 'प्रेमगीत' बनिसकेका छन् । फिल्मलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । पाठक प्रेमगीतका कथाकार थिए ।
प्रदिप खड्का स्टारर फिल्मले अश्लेशा ठकुरीलाई नव अबिनेत्रीको रुपमा डेब्यू दिँदैछ । २ महिना छायाँकन समय तोकिएको छ भने नेपालसँगै थाईल्याण र नेपाली मुलका मानिसहरुको बाहुल्यता रहेको देश बर्मामा 'प्रेमगीत २' छायाँकन हुनेछ । लभस्टोरी जनराको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने द्वन्द्व निर्देशन अष्ट महर्जनले गर्दैछन् । रेनशा वान्तवा राईले कोरियोग्राफीको जिम्मा सम्हालेकी छिन् ।
'प्रेमगीत'बाट अभिनेता प्रदिप फिल्म उद्योगमा राईज भएका थिए । उनको अभिनयलाई धेरैले मन पराए भने सांगितिक रुपमा पनि फिल्म उत्तिकै सबल देखियो । यो पटक केहि दिन पहिले मात्रै निर्माता र संगीतकारबीच विवाद परेपछि अर्जुन पोखरेलसँगको प्रेमगीत २ टिमसँगको सहकार्य टुटेको खबर सार्वजनिक भईसक्दा गीत संगीत कस्तो रहने भन्ने चुनौती निर्माण टिमलाई छ ।
फिल्ममा प्रदिप र अश्लेशासँगै भुवन चन्द, श्रद्धा प्रसाई, कैलाश कटुवाल, राजाराम पौडेल, कविता रेग्मी लिड अभिनयमा हुनेछन् ।

