नेपालभर छरिएर रहेका अभिनेता जीवन लुईंटेलका शुभचिन्तकले उनको नाममा फ्यानक्लब खोलेका छन् । देशको विभिन्न ठाउँबाट आएर काठमाडौंमा अध्ययन गरिरहेका उनीहरुले शनिबार त्रिपुरेश्वरस्थित दि भ्याली रेष्टुरेन्टमा जीवनकै उपस्थितिमा ‘जीवन लुईंटेल फ्यान क्लब’ खोलिएको घोषणा गरे । समारोहमा ५०भन्दा बढी शुभचिन्तकको उपस्थिति थियो । उनीहरु सबैलाई गेहेन्द्र बमले एकैठाउँमा भेला गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत् सबैलाई भेला गरेको बताए ।
‘म लामो समयदेखि जीवन दाइलाई फ्लो गरिरहेको थिएँ । उहाँ मनपर्ने भएकाले उहाँको फेक पेज खोलेर उहाँका फ्यानसँग अन्तक्र्रिया गर्दै आएको थिएँ । तर पछि जीवन दाइले पत्ता लगाएपछि मैंले त्यो पेज डिजल्भ गरे,’ उनले भने, ‘तर यही क्रममा जीवन दाइलाई मन पराउने धेरै रहेछन् र सबैलाई एकै ठाउँमा भेला गर्न पाए हुन्थ्यो भन्ने लागेर फ्यान क्लबको अवधारणा ल्याएका हौं ।’ तर गेहेन्द्रले फ्यान क्लब भएपनि यसको खास संरचना नभएको बताए ।

‘यसमा क्लबमा जस्तो को के पदमा भन्ने छैन । हामी सबैमा जीवन दाइलाई एकचोटि प्रत्यक्ष भेट्न पाए हुन्थ्यो भन्ने थियो । त्यही इच्छा पूरा गरेका हौं,’ गेहेन्द्रले भने । गेहेन्द्रको संयोजनमा भेला भएका अभिनेता लुईंटेलका शुभचिन्तक टुँडिखेलमा भेला भएर उनको फोटो अंकित टिसर्ट लगाएर रेष्टुरेन्टसम्म आएका थिए । सानो संख्यामा भेटिएका फ्यानलाई देखेर जीवन भने भावुक बने । ‘जीवनमा कहिलैपनि कसैले मेरो फोटो छातीमा टाँसेर हिँड्ला भन्ने कल्पना गरेको थिइनँ । तर आज भाइ बहिनीहरुलाई भेट्दा र उहाँहरुले लगाएको टिसर्टमा आफूलाई पाउँदा उहाँहरु जस्ता धेरैको मनमा रहेको अनभूति भएको छ । उहाँहरुले दिएको यो सम्मान र आदरका लागि यहाँ उपस्थितप्रति त आभारी छँदैछु, बाँकी शुभचिन्तकलाई पनि उहाँले गरेको मायामा घात नगर्ने वचनवद्धता व्यक्त गर्दछु,’ जीवनले भने ।

एक हप्ताअघि मात्र गेहेन्द्रले आफूहरुले सामूहिक रुपमा आफूलाई भेट्न चाहेको बताएपछि शनिबारको कार्यक्रम तय भएको पनि जानकारी जीवनले दिए । ‘गेहेन्द्र भाइले हप्तादिन अघि भेटेर आफूजस्तै फ्यान भेला भएर सामूहिक रुपमा भेट्न खोजेको बताउनु भयो । मैंले नाइँ भन्ने कुरै थिएन । तर आज उहाँलाई भेटेपछि थप जिम्मेवार भएर काम गर्नुेपर्ने रैछ भन्ने बोध भएको छ । जहाँ जे गरेपनि नेपाली फिल्मलाई मुटुमा राखिरहेको छु र राख्नेछु,’ जीवनले भने । कार्यक्रममा जीवनले आफू अभिनित फिल्मका संवाद र गीत गाएर सुनाएका थिए भने फ्यानले पनि आफूलाई मन पर्ने फिल्मका संवाद बोलेर सुनाएका थिए । अनौपचारिक रुपमा सुरु भएको फ्यान क्लब बिस्तारै औपचारिक हुने र अभिनेता जीवन लुईंटेल सम्बद्ध कामलाई प्रवद्र्धन गर्दै लैजाने फ्यान क्लबका सदस्यले बताए ।

