पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियको नाममा फिल्म फेस्टिभल चल्ने क्रम बढ्दो छ ।यो बीचमा राजधानीमा बिहिबारबाट अर्को एक फिल्म फेस्टिभल सुरु भएको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ (किम्फ) को बिहिबार एक समारोहबीच उद्घाटन गरे।
कमलपोखरिस्थित कुमारी हलमा मङ्सिर २७ गतेसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक, सर्ट, प्रयोगात्मक र एनिमेसन फिल्म देखाइने छ । महोत्सवमा २८ वटा मुलुकका ८० भन्दा बढी फिल्म प्रदर्शित हुनेछन् ।
महोत्सवको पहिलो दिन पहिलो सत्रमा चर्चित फिल्म 'सेतो सुर्य' (ह्वाईट सन) को नेपाल प्रिमियर भयो । केहि दिन पहिले मात्रै सिंगापुर ईन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट बनेको फिल्मको पहिलो पटक नेपालमा शो भयो ।
विदेशमा अवार्ड जितेको फिल्म हेरेपछि नेपालमा भने मिश्रित प्रतिक्रिया दर्शकले दिएका छन् । जनयुद्ध सकिएपछिको कथा उठाएको फिल्मले सिनेम्याटिक भाषामा दर्शकको मन जितेको छ यद्धपि उठान गरिएको विषय र दृश्यांकन भने तत्कालिन परिवेश सुहाउँदो नभएको धेरै दर्शक तथा फिल्मकर्मीले तर्क गरे ।
१० बर्षसम्म चलेको सशस्त्र द्वन्द्वकाल सकिएर देश सान्तीप्रक्रियामा गएर गणतन्त्र आउँदै राष्ट्रपति समेत देशले पाईसकेको समयलाई जोडिएको फिल्ममा हतियार बिसाईसकेको माओवादी र नेपाल प्रहरीबीच दोहोरो झडप भएको देखाउनुलाई अपच्य मानिएको छ ।
दिपक रौनियार निर्देशित फिल्ममा दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, आशा मगराती, देशभक्त खनाल, दिपक क्षेत्री लगायत लिड अभिनयमा छन् । फिल्म शुक्रबारबाट दर्शकमाझ आउँदैछ ।